जनता टाइम्स

२० जेष्ठ २०८१, आईतवार १८:५७

मुख्यमन्त्री तामाङ नेतृत्वको सिक्किम क्रान्तिकारी मोर्चाले जित्यो ३२ मा ३१ सिट, पूर्वमुख्यमन्त्री चाम्लिङ नै पराजीत


सिक्किम, जेठ २० । भारतको सिक्किममा मुख्यमन्त्री प्रेम सिंह तामाङ नेतृत्वको सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले विधान सभाका ३२ मध्ये ३१ सिटमा जित हासिल गरेको छ।

अप्रिल १९ मा मतदान भएकोमा आइतबार परिणाम आएको हो। निर्वाचनमा सिक्किम डेमोक्रेटिक फ्रंट (एसडिएफ) ले एक सिट मात्रै जितेको भारतीय समाचार संस्था एनडिटिभीले जनाएको छ। पूर्व मुख्यमन्त्री एवं एसडिएफ प्रमुख डा. पवन चाम्लिङ भने दुबै क्षेत्रबाट पराजित हुनुभएको छ ।

भारतीय जनता पार्टी, कंग्रेस र सिटीजन एक्सन पार्टीले खातासमेत खोल्न सकेन । ३२ सिट रहेको सिक्किममा बहुमतका लागि १७ सिट भए पुग्छ।

यहाँ एउटा मात्र लोक सभा क्षेत्र छ। लोक सभाको मतपरिणाम भने जुन ४ मा आउनेछ। सिक्किममा चार लाख ६४ हजार मतदाता रहेकोमा ८० प्रतिशत मत खसेको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रेमसिंह तामाङलाई बधाईसमेत दिनुभएको छ ।