जनता टाइम्स

२२ जेष्ठ २०८१, मंगलवार ०५:५६

नेकपा एस छाडेर एमाले फर्किएका श्रीधर पोखरेल भारी मतसहित मकवानपुरको अध्यक्षमा निर्वाचित


हेटौंडा, जेठ २२ । नेकपा एमाले मकवानपुरको अध्यक्षमा श्रीधर पोखरेल विजयी हुनुभएको छ ।

एमाले मकवानपुरको १२ औं जिल्ला अधिवेशनको क्रममा भएको निर्वाचनमा ३१३ मत प्राप्त गरी पोखरेल अध्यक्षमा निर्वाचित हुनुभएको हो । पोखरेलसँग प्रतिस्पर्धा गर्नुभएका अध्यक्षका उम्मेदवारहरु इन्द्रमान स्याङ्तानले २६२ मत र लालबहादुर थापाले १६६ मत प्राप्त गर्नुभएको छ ।

एमाले छाडेर माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी मकवानपुरका जिल्ला अध्यक्ष हुनुभएका पोखरेल गत स्थानीय तहको निर्वाचनमा एमालेमै फर्किनुभएको थियो । उहाँलाई एमाले कार्यकर्ताले बिजयी बनाएर नेकपा एसबाट एमाले फर्कने नेताहरुको सधै सम्मान हुने सन्देश दिएका छन ।

यस्तै निर्वाचनबाट उपाध्यक्षमा हिदम लामा विजयी हुनुभएको छ । लामाले ४७६ मत प्राप्त गर्दा प्रत्यासी सुनिल मोक्तानले १९७ मत प्राप्त गर्नुभएको छ । लामा भिमफेदी गाउँपालिकाका अध्यक्ष समेत हुनुहुन्छ ।

यसैगरी जिल्ला सचिवमा सीता विष्ट विजयी हुनुभएको छ । विष्टले २९७ मत प्राप्त गर्दा प्रतिस्पर्धी मदन दाहालले २५५ मत प्राप्त गर्नुभएको छ । उपसचिव खुल्लामा फुर्वादोर्जे लामा विजयी हुनुभएको छ । लामाले २४१ मत प्राप्त गर्दा दिपक खड्काले १६७ मत प्राप्त गर्नुभयो । यसैगरी उपसचिव महिलामा आरती पाठक विजयी हुनुभएको छ ।

पाठकले २४१ मत प्राप्त गर्नुभएको छ । उहाँसँग प्रतिस्पर्धा गर्नुभएकी पार्वती रानाले १७२ मत ल्याउनु भएको छ ।