चितवन, २५ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धुको जग्गा सट्टापट्टामा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जाल फेसबुकबाट केही दिनअघि गरेको टिपप्णीमाथि जबाफ दिनुभएको छ । चितवनको भरतपुर विमानस्थलमा आज पत्रकारसँगको कुराकानीमा अध्यक्ष ओलीले मेयर बालेनको टिप्पणीलाई ‘भैंसीको ढाडमा झिँगाले लात्ती हानेँ भनेर दंग परेजस्तै’ भन्ने टिप्पणी गर्नुभएको हो ।
‘भैंसीको ढाडमा झिँगा बस्यो कि के बस्यो, थाहा पनि पाएको हुँदैन, झिँगा दङ्ग परेको हुन्छ, चार लात हानेँ भनेर ’ म कसैसँग अनावश्यक ढंगको विवादमा पर्न चाहन्नँ,’ मेयर बालेनलाई लक्षित गर्दै अध्यक्ष ओलीले भन्नुभयो । उहाँले राष्ट्रिय राजनीतिलाई परिपक्व, जिम्मेवार, सभ्य बनाउनुपर्ने बताउनुभयो । ‘राष्ट्रिय राजनीतिलाई सम्भ राजनीतिमा लानुपर्छ, असभ्य राजनीतमा लानु हुँदैन,’ अध्यक्ष ओलीले भन्नुभयो ।
मेयर बालेनले गिरीबन्धु जग्गा प्रकरणमा दस हजार करोडको बदमासी रहेको र त्यसमा अध्यक्ष ओलीको संलग्नता रहेको भन्ने स्टाटस फेसबुकमा पोस्ट गर्नुभएको थियो । मेयर बालेनले गिरीबन्धु जग्गा सट्टापट्टा गरिदिन्छौं भनेर लिएको बैना फिर्ता गर्न पनि भन्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्