जनता टाइम्स

२६ जेष्ठ २०८१, शनिबार १७:०७

बजेटलाई प्रभावकारी बनाउने विषयमा सरकारसँग कुरा भइरहेको छ : अध्यक्ष ओली


काठमाडौं, २६ जेठ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले बजेटलाई प्रभावकारी बनाउने विषयमा सरकारसँग कुरा भइरहेको बताउनुभयो । नेकपा एमाले उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको अधिवेशन उद्घाटन गर्दै ओलीले बजेटमा देखिएका कमीकमजोरी सच्याउँदै यसलाई प्रभावकारी बनाउन आफूले सरकारसँग कुुरा गरिरहेको बताउनुभयो । उहाँले उत्पादनका माध्यमबाट पूँजी वृद्धि गर्दै मुलुकलाई विकासको बाटोतर्फ अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

औद्योगिक क्षेत्र स्थापना भए पनि उद्योग बन्न नसक्नु, लगानी सम्मेलन गरे पनि लगानी भित्रन नसक्ने अवस्थालाई अन्त्य गर्नुपर्ने उहाँको भनाइ छ । अध्यक्ष ओलीले नेपालमा थोरै लगानी र योगदान गरेर धेरै प्रतिफल बाहिर लिएर जाने अवस्थाको गम्भीरतापूर्वक समीक्षा गर्नुपर्ने बताउनुभयो ।

‘हामीले उत्पादन र रोजगारीका क्षेत्रमा विशेष लगानी गर्नुपर्छ । हामी आफैंले पूँजी र प्रविधिको विकास गर्ने बाटो लिनुपर्छ । हाम्रो पूँजी र प्रविधिले पुगेन भने पूँजी र प्रविधि बाहिरबाट ल्याउने, आकर्षित गर्ने, इन्भेष्ट गर्ने गर्नुपर्छ’, उहाँले भन्नुभयो,‘मुख्य रुपमा आफूले विकास गर्ने, पूँजीको सृजना गर्ने उत्पादनबाट, त्यस कामतिर लाग्नुपर्छ । कृषिको आधुनिकीकरण, त्यस्तै अन्यत्रको आधुनिकीकरण । उत्पादनमा प्रविधिको प्रयोग, उत्पादकत्व वृद्धिमा प्रविधिको प्रयोग, उद्योगमा प्रविधिको प्रयोगलगायतका कामहरु हामी कति गर्नसक्छौं, त्यसले हाम्रो औद्योगीकरणको भविष्य निर्धारण गर्छ ।’

उहाँले ६० प्रतिशत जनता निर्भर रहेको कृषिलाई आधुनिकीकरण गर्न नसकिने, व्यवसायिकीकरण गर्न नसकिने, औद्योगीकरण गर्न नसकिए मुलुक अगाडि जान नसक्ने बताउनुभयो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले पछिल्लो समय मुलुकको आर्थिक सूचकांक हेर्दा आर्थिक अवस्था सुधार हुँदै गएको बताउनुभयो । उहाँले आगामी मौद्रिक नीति सहज रुपमा आए यसअघिको अप्ठेरो हट्दै जाने धारणा राख्नुभयो ।