काठमाडौं, जेठ ३० । फिफा विश्वकप छनोट २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपालले यमनसँग २–२ को बराबरी खेलेको छ ।
समूह एच अन्तर्गत साउदी अरेबियाको दमाममा भएको खेलमा नेपालले सुरुमा गोल खाएपनि दुई गोल फर्काउँदै खेलमा अग्रता लिएको थियो । तर अन्तिम समयमा आफ्नो अग्रता जोगाउन नसक्दा नेपालले बराबरीमा चित्त बुझाउनु पर्यो ।
नेपालका लागि सन्जिव विष्ट र जिलेस्पी जंग कार्कीले आफ्नो पहिलो गोल गरेका हुन । यसै खेलबाट नेपालका कप्तान तथा गोलकिपर किरण कुमार लिम्बुले नेपालका लागि एक सयौँ खेल खेल्ने ऐतिहासिक उपलब्धी समेत हात पारेका छन । किरण नेपालका लागि सर्वाधिक क्याप जित्ने खेलाडी समेत हुन ।
प्रिन्स मोहमद फहद स्टेडियममा खेलको आठौं मिनेटमै यमनलले अग्रता लिएको थियो । नासेर अल गाहवासीले पेनाल्टीमा गोल गर्दै यमनलाई अग्रता दिलाएका थिए । तर त्यो अग्रता लामो समय टिक्न सकेन । २२औं मिनेटमा नेपालका सन्जिव विष्टले बराबरी गोल फर्काएका थिए ।
जारी छनोटको दोस्रो चरणमा नेपालले छैटौं खेलमा आएर पहिलो गोल गरेको हो । यसअघि समूहको पाँचवटै खेलमा पराजित हुँदा नेपाल गोलविहीन रहेको थियो । छैटौं खेलमा सन्जिवले नेपालका लागि आफ्नो पहिलो गोल गर्दै गोलको खडेरी तोडेका थिए ।
खेलको पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो भने ६६औं मिनेटमा जिलेस्पीजंग कार्कीले उत्कृष्ट गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाएका थिए । नेपाल जितनजिक रहेको बेला यमनले दोस्रो हाफको इन्जुरी टाइमको पहिलो मिनेटमा गोल गर्दै खेल २–२ को बराबरीमा पुर्याएर अंक बाँडन बाध्य बनायो । यमनका लागि मोहमेमद अल दाहीले बराबरी गोल गरेका थिए ।
यमनसँग बराबरी खेलेपछि समूह एचमा नेपालले १ अंक जोड्न सफल भएको छ । ६ खेलमा कूल २० गोल बेहोरेको नेपालले जम्मा दुई गोल गरेको छ । यमनले भने ६ मध्ये १ खेल जित्दा २ खेल बराबरी खेल्यो भने ३ खेलमा पारजित भएको छ । यसअघि नेपालले घरेलु मैदानमा यमनसँग खेल्दा २–० ले पराजित भएको थियो । यस समूहबाट युएई र बहराइन शीर्ष दुईमा रहेर फिफा विश्वकप छनोटको तेस्रो चरण र एसियन कप २०२७ का लागि छनोट भइसकेका छन् ।
समूह एचमा शीर्ष दुईमा नपरेपछि नेपाल र यमन दुवै फिफा विश्वकप छनोटको यात्राबाट बाहिरिसकेका छन । अब नेपाल र यमनले एसियन कप २०२७ का लागि तेस्रो चरणको छनोट खेल्नेछन ।
प्रतिक्रिया दिनुहोस्