जनता टाइम्स

३० जेष्ठ २०८१, बुधबार ०९:४९

२ बर्षे कार्यकालको प्रगति : एक सय बढी सर्प समातियो, नाला सफाइ जारी


विराटनगर, जेठ ३० । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले महानगरको प्रगति विवरण सार्वजनिक गर्नुभएको छ । सार्वजनिक सुनुवाईका क्रममा मेयर कोइरालाले एक सयभन्दा बढी सर्प समातेकोदेखि सडकको नाला सफाइलाई महानगरको प्रगति विवरणमा उल्लेख गर्नुभएको छ ।

करिब दुई वर्षको अवधिमा २० किलोमिटर सडक कालोपत्रे गरेको, ४० किलोमिटर नयाँ ग्राभेल गरको र १५२ वटा कल्भर्ट निर्माण गरेको मेयर कोइरालाको प्रतिवेदनमा उल्लेख छ । सीमित स्रोत र साधनको बाबजुद विकास निर्माणको काम गरिरहेको भन्दै कोइरालाले शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकता राखेर काम गरिरहेको जानकारी पनि दिनुभएको छ ।

विराटनगरका १९ वटै वडामा एक अर्ब १५ करोडभन्दा बढीका परियोजना सञ्चालन भइरहेको विवरण सार्वजनिक गरेका कोइरालाले आफू नेतृत्वमा आएपछि एक सयभन्दा बढी घरबाट नगर प्रहरीले सर्प समातेको जानकारी दिनुभयो । महानगरले नगरमा सर्प रेस्क्यूको अभियान सञ्चालन गरिरहेको छ । एक सयभन्दा बढी घरबाट समातेका सर्प सुरक्षित ठाउँमा लगेर छाडिएको उहाँको प्रगति विवरणमा छ ।

यस्तै शिक्षाको गुणस्तर वृद्धिका लागि सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग कार्यसम्पादन करार सम्झौता गरेको,सबै सामुदायिक विद्यालयमा पंखा जडान गर्ने कार्य जारी रहेको विवरण प्रगतिमा उल्लेख छ । यसैगरी उज्यालो विराटनगर अभियान जारी रहेको बताउँदै कोइरालाले नगरका मुख्य सडकमा सडकबत्ती जडान गरेको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै सडकको नाला, ढल र पैनी सरसफाई निरन्तर गरिरहेको विषयलाई आफ्नो प्रगति मानेका कोइरालाले बरगाछी–रानी सडकको सौन्दर्यकरण अभियान सुरु गरिएको पनि उल्लेख गर्नुभएको छ । यस खण्डमा यसअघि प्रदेश सरकार र विराटनगर महानगरपालिकाले सौन्दर्यकरण अभियान अन्तर्गत विरुवा रोपेका थिए ।

कोइरालाले सार्वजनिक गर्नुभएको प्रगति प्रतिवेदनमा महानगरको दक्षिणी क्षेत्रमा रहेको रानी प्राथमिक स्वास्थ्य केन्द्र र उत्तरी क्षेत्रमा रहेको बैजनाथपुर हेल्थ पोष्टलाई अस्पतालमा स्तरोन्नति गरेको, रानी अस्पतालमा फिजियो थेरापी, भिडियो एक्स–रेलगायतका सुविधा थप गरिएको उल्लेख छ ।

यस्तै १९ वटै वडामा निःशुल्क स्वास्थ्य शिविर गरी ५ हजार २२ जनाको स्वास्थ्य परीक्षण गरेको, विराटनगरलाई मोतियाबिन्दुमुक्त महानगर बनाउने अभियान अन्तर्गत आँखा जाँचका लागि विभिन्न ६ वटा वडाको स्वास्थ्य केन्द्रलाई साप्ताहिक आँखा जाँच क्लिनिक तोकिएको, ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूलाई घर–घरमै पुगेर निःशुल्क स्वास्थ्य जाँच गरी औषधिसमेत वितरण गरेको र निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेको मेयर कोइरालाले जनाउनु भएको छ ।

गत वर्षसम्मको कुल बेरुजु २३ करोड ८३ लाखको सम्परीक्षण गर्दा १.०३ प्रतिशत मात्रै बेरुजु आएको र बेरुजु कम निस्कने पालिकामध्ये विराटनगर मोरङको पहिलो पालिका भएको पनि उहाँले जनाउनु भएको छ ।