जनता टाइम्स

३१ जेष्ठ २०८१, बिहीबार ०१:४७

पाल्पा घुमेर बुटवल फर्कदै गरेको कार बंदेलपोखरी माथिको सडकबाट खस्यो, ३ जनाको मृत्यू


बुटवल, जेठ ३१ । पाल्पाको नुवाकोट घुमेर रुपन्देहीको बुटवलतर्फ फर्किँदै गरेको कार दुर्घटना हुँदा तीन जनाको मृत्यू भएको छ ।

तिनाउ नदी पारी पर्ने नुवाकोटबाट फर्किँदै गरेको कार दुर्घटनामा परी बुटवल–१० बस्दै आएका कार चालक ५६ वर्षीय रामप्रसाद शर्मा (छविलाल), तिलोत्तमा–३ की ५७ वर्षीया आशा श्रेष्ठ र सोही ठाउँकी ५० वर्षीया भगवती श्रेष्ठको मृत्यू भएको हो ।

प्रहरीका अनुसार लु २ च ८५३१ नम्बरको कार बुधबार साँझ करिब साढे ८ बजेतिर बुटवल–१३ बंदेलपोखरी माथिको सडकबाट करिब सय मिटर तल खसेको थियो । दुर्घटनामा गम्भीर घाइते भई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएका तीनै जनालाई चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी विजयराज पण्डितले जानकारी दिनुभयो ।

दुर्घटनामा परी बुटवल उपमहानगरपालिका–९ बस्ने चन्द्रा श्रेष्ठ र बुटवल–११ बस्ने लक्ष्मीता श्रेष्ठ घाइते हुनुभएको छ । उहाँहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ ।