जनता टाइम्स

१३ असार २०८१, बिहीबार २१:५९

बिवाहको नाटक गरी चीन लगेर मानव बेचबिखन गिरोहको योजनाकार पक्राउ


काठमाडौं, असार ३ । बिवाहको नाटक गरी चीनमा मानव तस्करी तथा बेचबिखन गरेको आरोपमा प्रहरीले एक महिला पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–१ जोगिदह घर भएकी ३१ वर्षीया सुन्दरी राई छिन् । उनलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो । उहाँले चिनियाँ केटासँग विवाह गरेर चीन आउन भन्दै पीडित महिलालाई सामाजिक सञ्जालमार्फत प्रस्ताव गरेकी थिइन् ।

विश्वास दिलाउन आफू समेत चिनियाँ केटासँग विवाह गरेर चीन आएको बताएकी थिइन् । त्यसपछि पीडित महिलालाई ठमेलमा उनले चिनियाँ केटासँग समेत भेट गराएको पाइएको ब्यूरोका प्रवक्ता एसपी गौतम मिश्रले जानकारी दिनुभयो । महिलालाई झुक्याएर १० फागुन २०८० मा चीन पुर्याएको खुल्न उहाँले बताउनु भयो ।

चीन पुगेपछि ती महिलाले आफू १ लाख ५० हजारमा बिक्री भएको थाहा पाएकी थिइन् । चिनियाँ नागरिकले उनलाई घरमै बन्धक बनाएर शारीरिक र मानसिक यातना दिँदै यौन शोषण समेत गरेको पीडितको भनाइ छ । त्यसपछि चीनस्थित नेपाली दूतावासको समन्वयमा उनी ९ असारमा नेपाल फर्केर ब्यूरोमा जाहेरी दिएकी थिइन् ।

पीडितको जाहेरीपछि ११ असारमा सुन्दरी राईलाई पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसारको कसुरमा अनुसन्धान गर्न व्यूरोले ७ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको छ । यस घटनामा चिनियाँ नागरिक समेत संलग्न रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।