काठमाडौं, १४ साउन । नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले टेरामक्स प्रकरणबारे उचित समयमा जवाफ दिने बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उहाँले टेरामक्सलाई लिएर संसद्मा आफूविरुद्ध कुराहरु आइरहेको भन्दै आफुले उचित समयमा जवाफ दिने बताउनुभएको हो।
बस्नेतले टेरामक्स वार्षिक अर्बौं राजश्व बचाउने एकमात्र मन्त्र रहेको बताउदै टेरामक्स प्रणाली लागू नभएसम्म कल बाइपास गरेर कालोबजारी भइरहने बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘मलाई पनि यो टेरामक्सको कुरा लिएर बेला–बेलामा, यसका बारेमा तीन जना सांसदहरुको नाम मुछिएको छ । एकदम कलिला–कलिला ओठ निर्चोदा दुध आउने माननियदेखि लिएर दाह्रीजुँगा फुलेकासम्म सबैले यो कुरा उठाइरहनुभएको छ । उचित दिन आएछ भने म यसको जवाफ दिनेछु ।’
उहाँले संसारभरी टेलिफोनमा कल बाइपास टेरामक्स विधिले नै नियन्त्रण भइरहेको दाबी गर्दै टेरामक्स प्रकरणमा ठगीको धन्दा नभएको बताउनुभयो ।
नेता बस्नेतले नेपालमा कल बाइपास गरेर वर्षको २५ अर्बभन्दा बढी राजश्व घोटला भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘मैले आँट गरेर यो विधि सुरुवात गर्न खोजेको हुँ । २५ अर्ब वार्षिक घटला गर्नेले कति अर्ब खर्च गरेर सम्बन्धित निकायहरुलाई ड्राइभर्ट गर्न खोजेको हो ? भविष्यले बताउला ।’
प्रतिक्रिया दिनुहोस्