जनता टाइम्स

१८ असार २०८१, मंगलवार २०:१९

ओली नेतृत्वमा बन्ने सरकारमा सहभागी हुन माधवलाई देउवाको प्रस्ताव


काठमाडौं, १८ असार । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

कांग्रेस सभापति देउवाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरी एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने कांग्रेस एमाले गठबन्धनको सरकारमा सहभागी हुन प्रस्ताव गर्नुभएको छ ।

अध्यक्ष नेपाल र सभापति देउवाबीच बूढानीलकण्ठस्थित देउवा निवासमा भएको भेटवार्तामा पछिल्लो राजनीतिक विकासक्रमबारे छलफल भएको एकीकृत समाजवादीका नेता आलोक रायमाझीले राससलाई जानकारी दिनुभयो ।

सभापति देउवाले नेपाली कांग्रेस र नेकपा (एमाले) बीच राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सम्बन्धमा भएको सहमतिबारे अध्यक्ष नेपाललाई जानकारी दिँदै त्यसमा सामेल हुन प्रस्ताव गर्नुभएको नेता रायमाझीले बताउनुभयो । नेता रायमाझीका अनुसार अध्यक्ष नेपालले सभापति देउवाद्वारा प्रस्तुत प्रस्तावमाथि पार्टीमा छलफल गरेर जानकारी दिने बताउनुभयो ।