जनता टाइम्स

२० असार २०८१, बिहीबार २१:५८

सामुहिक राजीनामा बुझाएर लुम्बिनी सरकारबाट बाहिरियो एमाले, समर्थन पनि फिर्ता


दाङ, असार २० । सरकारलाई दिएको समर्थन फिर्तासँगै लुम्बिनी प्रदेश सरकारमा रहेका एमालेका पाँच जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन । मुख्यमन्त्री जोखबहादुर महरालाई बिहीबार बेलुका सरकारी निवासमा भेटेर एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा दिएका हुन् ।

महरा नेतृत्वको सरकारमा एमालेबाट आर्थिक मामिला मन्त्री चेतनारायण आचार्य, शहरी विकास तथा खानेपानी मन्त्री भूमिश्वर ढकाल, आन्तरिक मामिला मन्त्री दिनेश पन्थी, सामाजिक विकास मन्त्री रत्न खत्री र वन तथा वातावरण मन्त्री अर्जुन केसी रहनुभएको थियो । उहाँहरु सवैले आज राजीनामा दिनुभएको हो ।

एमालेले आज नै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइसकेको छ । यसको जानकारी प्रदेश प्रमुख र सभामुखको सचिवालयमा समेत गराइसकेको संसदीय दलका नेता लिला गिरीले जानकारी दिए । एमालेले समर्थन फिर्ता लिएसँगै लुम्बिनी सरकार अल्पमतमा परेको छ ।

एमालले केन्द्रमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन बुधबार फिर्ता लिएको थियो । केन्द्रमा समर्थनफिर्ता भएसँगै आज सुदूरपश्चिम सरकारलाई दिएको समर्थन पनि एमालेले फिर्ता लिइसको छ ।