जनता टाइम्स

२७ असार २०८१, बिहीबार १७:५७

चिनियाँ बिद्युतीय गाडीमाथि राजस्वले थाल्यो अनुसन्धान, एमजी मोटर्सको बीवाईडी मुख्य निशानामा


काठमाडौं, असार २७ । राजश्व अनुसन्धान विभागले कर छली आशंकामा चिनियाँ विद्युतीय सवारी ब्रान्ड लक्षित अनुसन्धान अघि बढाएको छ । सरकारले ईभी सवारी साधनमा दिएको कर छुटको व्यवस्थालाई दुरुपयोग गरी कर छली गरेको पाइएपछि राजस्व अनुसन्धान विभागले चिनियाँ ईभी ब्राण्डमाथि छानबिन अघि बढाएको हो ।

केहीदिन अघि विभागले विद्युतीय सवारी साधनमा कर छली भइरहेको आशङ्कामा ईभीको आयातसँग सम्बन्धित सम्पूर्ण कागजात आफ्नो नियन्त्रणमा लिएको थियो । विभागले विशेष गरेर चिनियाँ ईभी ब्राण्ड बीवाईडीलाई प्राथमिकतामा राखेर अनुसन्धान गरिरहेको जनाएको छ ।

अनुसन्धानका क्रममा विभागबाट खटिएको टोलीले बीवाईडीका लागि नेपालको आधिकारिक बिक्रेता साइमेक्स इङ्कमा छापा मारेको छ । छापा मारेर ल्याइएको कागजात अपूग भएपछि विभागले थप काजजात पनि माग गरेको छ । विभागले अहिले थप कागजातका आधारमा अनुसन्धान भइरहेको जनाएको छ ।

सवारी साधन उत्पादन भएको मुलुक, भन्सार जाँचपास भएको मूल्य, कर तिरेको मूल्य र मोटर पिक पावर र क्षमता र नेपाल भित्रिएका ईभी ब्राण्डको संख्यालाई केन्द्रविन्दुमा राखेर विभागले अनुसन्धान गरिरहेको छ । यतिबेला विशेष गरेर चिनियाँ नाका हुँदै आउने विद्युतीय सवारी साधनको मोटर क्षमता घटाउँदै कर छली गरेको विभागको बुझाइ छ ।

यसै विषयमा बीवाईडीसँगै एमजी मोटर्सको ईभी सवारीबारे समेत विभागले विवरण माग गरेको छ । सो कम्पनीले कर छलेको देखिएपछि बिभागले गहन रुपमा अनुसन्धान अघि बढाएको हो ।