जनता टाइम्स

३१ असार २०८१, सोमबार २०:३१

पदबहालीकै दिन कडा एक्शनमा उत्रिए अर्थमन्त्री पौडेल : कर छुट दिने पूर्वमन्त्री बर्षमानको नीति फेर्न बजेटमै संशोधन


काठमाडौं, असार ३१ । सरकारले नै बजेटमा संशोधन दर्ता गराएको छ । नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय सभा बैठकमा आज आर्थिक विधेयक २०८१ को दफा ३६ को उपदफा (६) मा संशोधन प्रस्तुत गर्नुभएको हो ।

कुनै कम्पनीका पुराना सेयरधनी र सेयर संख्या यथावत नै भएको अवस्थामा कसैले थप लगानी गरी सो कम्पनीमा ५० प्रतिशतभन्दा बढी स्वामित्व पुर्याएको अवस्थामा दफा ५७ अनुरुपको २५ प्रतिशत कर नलाग्ने प्रस्ताव आर्थिक विधेयकमा गरिएको थियो ।

अर्थमन्त्री पौडेलले उक्त उपदफामा नै संशोधन प्रस्तुत गरी यस्तो सुविधा ‘स्टार्टअप, भेन्चर क्यापिटल, प्राइभेट इक्विटी फन्डले मात्रै पाउने व्यवस्था गर्नुभएको छ । निवर्तमान अर्थमन्त्री वर्षमान पुनले आयकर ऐनको दफा ५७ मा प्रस्ताव गरेको यो संशोधन कुनै कम्पनी विशेषलाई सुविधा दिन ल्याएको आरोप लागेको थियो । सरकारमाथि लागेको सो आरोप सही रहेको निश्कर्षका साथ नवनियुक्त अर्थमन्त्री पौडेलले संशोधन गर्नुभएको हो ।