जनता टाइम्स

७ श्रावण २०८१, सोमबार १३:५३

लुम्बिनीमा दलका नेता नै बन्न पाएनन मुख्यमन्त्री, महासचिव शंकरको फोनले उपनेता मुख्यमन्त्री


रुपन्देही, साउन ७ । लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्ने दौडमा रहनुभएका नेकपा एमाले संसदीय दलका नेता लीला गिरीको नाममा टिपेक्स लागेको छ । मुख्यको लागि दाबी पेस गर्ने बेला गिरीको नाममा टिपेक्स लगाई सांसद चेतनारायण आचार्यको नाम लेखिएको छ ।

मुख्यमन्त्री जोखबहादुर महराले आइतबार राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले सोमबार दिउँसो १ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न दलहरूलाई आह्वान गर्नुभएको थियो ।सोहीअनुसार एमाले र नेपाली कांग्रेसले लीला गिरीको नेतृत्वमा सरकार गठन गर्ने भन्दै तयारी गरिरहेको बेला एमाले महासचिव शंकर पोखरेलले फोन गरी गिरीको नाम हटाएर आचार्यको नाम दिनुभएको हो ।

एमालेका प्रमुख सचेतक तुलसी चौधरीले लीला गिरीलाई मुख्यमन्त्रीका लागि दाबी पेश गर्न पत्र तयार गर्दै गर्दा महासचिव पोखरेलको एक फोनले लीला गिरीको नाममा टिपेक्स लागेर आचार्यको नाम लेखिएको हो । एमाले लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कँडेलले महासचिव शंकर पोखरेलले फोन गर्दै चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाउन भनेपछि सोहीअनुसार नाम परिवर्तन गरिएको जानकारी दिनुभयो ।

‘यो पार्टी केन्द्रबाट आएको निर्देशन हो, बिहान महासचिव कमरेडले पार्टीको निर्णय हो, चेतनारायणजीलाई मुख्यमन्त्री बनाउनुपर्यो, भनेर फोन गर्नुभयो । हामीले केन्द्रको निर्देशन पालना गर्यौं,’ कँडेलले भन्नुभयो । कँडेलले अन्तिम समयमा किन लीला गिरीको नाम हटाएर चेतनारायण आचार्यको नाम सिफारिस गरियो भन्नेबारे आफूलाई जानकारी नभएको बताउनु भएको छ ।

अर्घाखाँचीको निर्वाचन क्षेत्र नं. १ (१) बाट निर्वाचिन आचार्य लुम्बिनी प्रदेशसभामा संसदीय दलका उपनेता हुनुहुन्छ । आचार्य यसअघि शंकर पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुन, लीला गिरी नेतृत्वको सरकारमा ग्रामिण खानेपानी तथा सहरी विकासमन्त्री तथा जोखबहादुर महरा नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री हुनुहुन्थ्यो ।