काठमाडौं, भदौ १ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा गएको भीषण बाढी हिमताल विष्फोटका कारण हुनसक्ने अनुमान गरिएको छ । जल तथा मौसम विभागले थामे खोला जलाधारको माथिल्लो क्षेत्रमा ६ वटा हिमतालहरू रहेको र त्यसमध्ये कुनै विष्फोट भएको हुनसक्ने अनुमान गरेको हो ।
विभागका अनुसार सो क्षेत्रमा गत साउन २५ गतेअघि ७ दिनमा ६५ मिमि पानी परेको अनुमान गरिएको छ । त्यसलगत्तै उक्त क्षेत्रको तापक्रम वृद्धि भएको विभागले जनाएको छ । शुक्रवार भने सो क्षेत्रको अधिकतम तापक्रम १५.९ डिग्री सेल्सियम पुगेको थियो ।
’विभिन्न प्रारम्भिक जानकारीबाट निरन्तर वर्षा र तापक्रम वृद्धिले सो क्षेत्रमा हिमपहिरो गएको कारण वा कुनै कारणले थामे खोला जलाधारमा रहेका विभिन्न हिमतालहरूमध्ये कुनै हिमताल विष्फोट भएको हुनसक्ने देखिन्छ,’ विभागले विज्ञप्ति जारी गर्दै भनेको छ ।
एक्कासी भीषण बाढी आएका कारण दूधकोशी रबुवाबजार बाढी मापन केन्द्रका अनुसार थामेबाट करिब ८२ किमी तल्लो तटीय क्षेत्रमा साँझ ५ः४० बजे आधा घन्टामै १.२० मिटरबाट ५.५३ मिटर सतह बढेको थियो ।
विभागले रबुवाबजारभन्दा तल्लो तटीय क्षेत्रमा तत्काल ठूलो जोखिम नरहेको बताएको छ । दुधकोशीको नदी तटीय क्षेत्रमा भने भोलि विहानसम्म सतर्कता अपनाउन भनिएको छ । शुक्रबार करिब साढे १ बजे थामेमा एक्कासि भीषण बाढी आएको थियो। बाढीले बगाएर एक जना बेपत्ता भएका छन भने दर्जन बढी घरहरू बगेको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार घटनामा थामेको सात वटा घर, पाँच वटा होटल, एउटा विद्यालय र एउटा क्लिनिक बगाएको छ। सोही क्षेत्रका ७ वटा घर जोखिममा रहेको प्रहरी नायब उपरीक्षक घिमिरेले बताउनु भयो ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी थम्बुचे र नाम्चेबाट प्रहरी परिचालन भइ स्थानीय जनप्रतिनिधिसँग समन्वय गरी काम गरिरहेका छन ।
प्रतिक्रिया दिनुहोस्