जनता टाइम्स

१५ भाद्र २०८१, शनिबार १६:२०

बंगलादेशजस्तो हुन नेपाल कुनै देशको फोटोकपी मेसिन होइन : प्रधानमन्त्री ओली


काठमाडौं, १५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब हिंसा संभव नभएको र हुन नदिइने बताउनुएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बंगलादेश र श्रीलंकाबाट पाठ सिक्न उपदेश दिएको भन्दै ओलीले नेपाल कुनै देशको फोटोकपी मेसिन नभएको बताउनुभयो ।

‘हिजोतिर हो क्यारे प्रचण्डजीले बंगलादेश र श्रीलंकाबाट सिक भनेर अर्ती उपदेश दिनुभएछ। मैले १७ हजार मान्छे मारेको छ र खुट्टा कमाउन ? मैले लुटपाट मच्चाएको छु र खुट्टा कमाउन ?’ क्यप्टेन रामेश्वर थापाको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो ‘जो चर्को स्वरमा भन्दै हुनुहुन्छ म भन्न चाहन्छु राम्ररी सिक। बेथिति आजको समयमा चलाउन सकिँदैन। चलाउन हुँदैन। बंगलादेशमा केही भयो भनेर नेपालमा त्यही हुन्छ ? नेपाल कुनै देशको फोटोकपी मेसिन होइन। यहाँ आफ्नो इतिहास छ आफ्नो परम्परा छ।’ ओलीले आफूले भ्रष्टाचार नगरेको र गर्न नदिने प्रतिवद्धता दोहोर्याउनुभयो।

‘मैले जानीजानी अहिलेसम्म झूट बोलेको छैन, बोल्दिनँ । जानीजानी कसैको अधिकार हनन् गरेको छैन, गर्दिनँ । जानीजानी अनैतिक काम गरेको छैन गर्दिनँ। त्यसैले म ढुक्क छु।’ ओलीले भन्नुभयो ।