काठमाडौं, ८ असोज । रोटरी क्लब अफ काठमाडौं वेष्ट र वरिष्ठ पत्रकार शम्भु श्रेष्ठले मिर्गौला पीडित पत्रकार पिबी दियालीलाई सहयोग हस्तान्तरण गर्नुभएको छ ।
उपचाररत दियालीलाई आज बीर अस्पतालमा पुगेर देवेन्द्र गौतम पत्रकारिता पुरस्कारबाट पुरस्कृत दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठले प्राप्त गर्नुभएको रकम १ लाख र रोटरी क्लब अफ काठमाडौं वेष्टका अध्यक्ष देश कुमार श्रेष्ठले क्लबको तर्फबाट ८२ हजार सहयोग गर्नुभएको हो ।
दृष्टि साप्ताहिकका सम्पादक शम्भु र रोटरी क्लब अफ काठमाडौं वेष्टका अध्यक्ष देशकुमारले संयुक्त रुपमा १ लाख ८२ हजारको चेक दियालीलाई हस्तान्तरण गर्नुभएको हो ।
यसैगरी करेन्ट मिडिया एण्ड रिसर्च सेन्टरका प्रबन्ध निर्देशक किरण गौतमले रु ५० हजार नगद सहयोग गर्नुभएको छ । सो अवसरमा दृष्टि साप्ताहिकका सम्पादक श्रेष्ठले जीवनभर देश, जनताका लागि इमान्दारीतापूर्वक पत्रकारिता गर्ने श्रमजीवी पत्रकारहरु बिरामी पर्दा राज्यबाट उपेक्षित हुनु राम्रो कुरा नभएको सुनाउनुभयो ।
उहॅाले एकजना पत्रकारलाई दुःख कष्ट पर्दा अन्य पत्रकारहरुले साथ दिनुपर्छ भन्ने भावनासहित उक्त रकम मिर्गौलापीडित पत्रकारलाई प्रदान गरिएको बताउनुभयो ।
त्यसैगरी रोटरी क्लब अफ काठमाडौं वेष्टका अध्यक्ष देश कुमार श्रेष्ठले रोटरी भनेकै सेवा गर्न जन्मिएको संस्था भएकाले मिर्गौलापीडित पत्रकार दियालीलाई उपचारमा केही सहयोग होस् भन्ने भावनाले रोटरी क्लब अफ काठमाडौं बेष्ट पनि आजको कार्यक्रममा सहभागी भएको बताउनुभयो ।
सो अवसरमा करेन्ट मिडियाका गौतमले लोकतन्त्रका लागि आजीवन पत्रकारिताको माध्यमबाट देश र समाजका लागि योगदान पुर्याउने पत्रकारहरु बिरामी पर्दा राज्यले हेर्नुपर्ने बताउनुभयो । त्यसबाहेक उहॅाले पत्रकारसँग सम्बन्धित संघ-संस्थाहरुले उपचार कोषको व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो ।
मिर्गौलापीडित पत्रकार पिबी दियाली इटहरीबाट प्रकाशित गणराज्य साप्ताहिकका सम्पादक हो । उहॅाको दुबै मिर्गौलामा समस्या देखिएपछि केही महिना अगाडि वीर अस्पतालमा नै मिर्गौला ट्रान्सप्लान्ट गरिएको थियो ।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा रोटरी क्लब अफ काठमाडौं वेष्टका पदाधिकारीहरु, समाजसेवी र पत्रकारहरूको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस्