जनता टाइम्स

१४ आश्विन २०८१, सोमबार १८:२३

उद्धार, राहत र पुनर्निर्माणमा तीव्रता दिइन्छ : प्रधानमन्त्री ओली


काठमाडौं, १४ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले विपत्तिको बेला विरोधका लागि विरोध नगरी उद्धार, राहत र पुनर्निर्माणमा तीव्रता दिइने बताउनुभएको छ । संयुक्त राष्ट्रसंघको ७९औं महासभामा सहभागी भई आज स्वदेश फर्किएपछि विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले सरकारी निकाय र जनस्तरबाट उद्धारको कार्य भइरहेको बताउनुभयो ।

‘सरकार यहाँहरूकै हो । यस विपद्को घडीमा सक्दो सहयोग र राहत पुर्याउने कार्यमा सरकारले कुनै कसर बाँकी राख्ने छैन भन्ने विश्वास दिलाउन चाहन्छु’, उहाँले भन्नुभयो । उहाँले बाढी आउने कुरालाई रोक्न नसकिने बताउनुभयो ।

‘बाढी र पहिरो आउने कुरा पूर्वसूचना गरेर जाँदैन । गएपछि क्षति पुर्याउने नै हो । सरकारले राहत र उद्धारको काम गरेको छ । मैले बाहिर हुँदा पनि जानकारी लिएको छु । सरकारले आफ्नो बुताअनुसार गरेको छ । विरोधका लागि विरोध होइन । सबै मिलेर अघि बढ्नु आवश्यक हुन्छ ।’ उहाँले सरकारले उद्धार, राहत र पुनर्निर्माणमा अब प्रभावकारी बनाउने बताउनुभयो ।