जनता टाइम्स

१ कार्तिक २०७६, शुक्रबार १७:५४

हारलगत्तै कुल आचार्यले लगाए गम्भीर आरोप


काठमाडौं, कात्तिक १ । गैर आवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा थोरै मतले पराजित हुनुभएका कुल आचार्यले फर्जी मतदाताको कारण आफूले हार बेहोरेको भन्दै एनआरएनए सचिवालयमाथि गम्भीर आरोप लगाउनु भएको छ । पराजयसँग आफ्नो धारणा सार्वजनिक गर्दै आचार्यले आफूलाई मतदाताको कारण नभई धाँधली गरेर हराइएको हारोप लगाउनु भएको छ ।

यस्तो छ आचार्यको भनाई

गैर आवासीय नेपाली संघको काठमाडौँमा सम्पन्न नवौं विश्व सम्मेलनमा मलाई साथ, सहयोग र समर्थन दिनु हुने सम्पूर्ण आदरणीय मतदाता, प्रतिनिधि, अग्रजहरु, शुभेच्छुक संघसंस्थालगायत मिडियाका मित्रहरुप्रति आभार व्यक्त गर्दै हार्दिक धन्यवाद दिन चाहन्छु । तपाईंहरु सबैको स्नेह पाउँदा म अत्यन्त खुसी छु र आफुलाई भाग्यमानी ठानेको छु । मैले १५ वर्षको उमेरमा श्रद्धेय पिताजीलाई गुमाएँ । मेरा मातापिताको सामाजिक भावनाबाट प्रेरित भएर सामाजिक कामको शुरुवात गरें । एनआरएनए साँच्चै दुःख परेका तथा देश बाहिर बसोबास गरिरहेका नेपालीलाई सेवा गर्ने संस्था हो भनेर अरु कतै नलागीकन काम शुरु गरें ।

गएको १२ वर्ष देखि निरन्तर संघमा काम गर्दैगर्दा संसारभरी रहनु भएका साथीहरुको माया ममता पाएँ । धेरै सिक्ने मौका पाएँ । सिकेर केही गर्ने प्रयत्न पनि गरें । फलस्वरूप एनआरएनएको केन्द्रीय उपाध्यक्षसम्म पुगें । मेरो काम देखेर आदरणीय अग्रजहरु तथा संसारभरीका साथीहरुले मलाई प्रोत्साहन दिनुभयो । सबैको आग्रहलाई स्वीकार्दै मैले अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरें । जब निर्वाचन प्रक्रिया शुरु भयो, एनसीसी बेलायतमै विवाद उत्पन्न गर्ने प्रयास गरियो । सो विवाद मिलाएर काठमाडौँ आउंदै गर्दा सचिवालयको अनियमितता देखेर दुःख लाग्यो । संधै सबै कामहरु रातरात अनियमित रुपले अगाडि बढाइयो । सदस्यता रजिस्ट्रेशनमा चरम अनियमितता गरिएको जगजाहेर गर्न चाहन्छु । नियमसंगत हुनुपर्ने कामहरुमा पनि अनुनय विनय गर्नुपर्ने अवस्था आयो । फेरि पनि संस्थाको बृहत हितलाई ध्यानमा राखेर मैले संयम अपनाएँ ।

अन्तिम मतदाता नामावली प्रकाशन नगरिकनै उम्मेदवारी दर्ता गर्ने काम गरियो । धेरै फर्जी मतदाताहरु तयार गरियो । चुनाव सम्पन्न भई सकेपछि पनि कति मत खस्यो ? भन्ने विवरण सार्वजनिक गरिएन । विनामुचुल्का मतगणना शुरु गरियो । बहालवाला निर्वाचित जनप्रतिनिधि जापानको प्रतिनिधि बनेर मतदान गरेको घटनासहित नेपाल फर्किसकेका सैयौं व्यक्तिहरुलाई मतदाता नामावलीमा समावेश गरी योजनावद्ध ढंगले मतदान प्रक्रियामा सहभागी गराइयो । यी सबै अनियमतिताहरुलाई सहँदै, मेरो छाती ठूलो बनाउंदै, विभिन्न कानूनी प्रक्रियामा जान सक्ने अवस्था हुँदाहुँदै पनि म एनआरएनएको बृहत्तर हितका लागि अस्वभाविक भएपनि प्रक्रिया स्वीकार्दै भविष्यमा पनि निरन्तर रुपमा क्रियाशिल हुने प्रतिवद्धता व्यक्त गर्दछु ।

सचिवालयको अनियमितता देखेर दुःख लाग्यो । संधै सबै कामहरु रातरात अनियमित रुपले अगाडि बढाइयो । सदस्यता रजिस्ट्रेशनमा चरम अनियमितता गरिएको जगजाहेर गर्न चाहन्छु । नियमसंगत हुनुपर्ने कामहरुमा पनि अनुनय विनय गर्नुपर्ने अवस्था आयो

सबै एनआरएनहरुलाई समेट्ने गरी बलियो गैर आवासीय नेपाली संघ बनाउन मैले जोड दिंदै आएको छु । यो अभियानमा मलाई साथ र समर्थन दिनु हुने सबै मित्रहरु तथा अग्रजहरू प्रति म हार्दिक आभार व्यक्त गर्दछु । हाम्रो तर्फबाट केही कमी, कमजोरी भएको भए साथीहरुसंग क्षमायाचना गर्दछु । आगामी दिनमा पनि तपाई सबै साथीहरुको यसैगरी माया र सहयोग पाइरहने विश्वास लिएको छु ।

संघको केन्द्रीय कार्य समितिमा निर्वाचित मेरा मित्र कुमार पन्तलगायत सम्पूर्ण निर्वाचित साथीहरुलाई हार्दिक बधाई दिंदै सफल कार्यकालका लागि शुभकामना दिन चाहन्छु । मेरो टिममा रहेर मेरो चुनावी अभियानमा सघाउनु हुने मेरा परिवारजन, युके तथा संसारभरीका मित्रहरु र सीमित श्रोत साधनका बावजुद दिनरात खट्नु हुने नेपालस्थित साथीहरुप्रति म हृदयदेखि नै आभार व्यक्त गर्दछु ।
कुल आचार्य
अध्यक्ष पदको उम्मेदवार, एनआरएनए आइसीसी
मिति : १८ अक्टोबर २०१९ काठमाडौँ