जनता टाइम्स

५ कार्तिक २०८१, सोमबार १५:१८

आफ्नै बुद्धि कमजोर भएकाले एमालेबाट बाहिर बस्नुपर्यो : बामदेव गौतम


काठमाडौं, कात्तिक ५ । राष्ट्रियसभा सदस्य बामदेव गौतमले आफ्नै बुद्धि कमजोर भएकाले एमालेबाट बाहिर बस्नुपरेको बताउनु भएको छ ।

राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति सोमवारको बैठकमा गौतमले एमालेका लागि आफूले धेरै योगदान दिएको भएपनि आफ्नै बुद्धि कमजोर भएकाले एमालेबाट बाहिर बस्नुपरेको बताउनु भयो ।

उहाँले नेकपा एमाले निर्माणमा ७५ प्रतिशत आफ्नो भूमिका रहेको दावी पनि गर्नुभयो । एमालेका पूर्वबरिष्ठ उपाध्यक्षसमेत रहनुभएका गौतमले एमाले निर्माणदेखि देशका लागि लामो समय काम गरेको अनुभव र अध्ययनका आधारमा प्राकृतिक प्रकोपको जोखिमबारे राष्ट्रियसभामा बोल्दा पनि सरकारले गम्भीरता नलिएकाले अहिले धेरै क्षति भएको जिकिर गर्नुभयो ।

उहाँले पहिरोमा परि त्रिशुलीमा दुईवटा बस बगाएपछि आफूले राष्ट्रिय सभामा त्यसपछिको दुई महिनामा सडक बन्द गर्न सुझाव दिएपनि सरकारले त्यसलाई नसुनेको बताउनुभयो । विश्वका क्षमतावान बिज्ञहरुलाई बोलाएर पहिरोका बारेमा पूर्णमूल्याङ्कन र पहिरो रोकथाम गर्न आफूले यसअघि नै सुझाव दिएको उहाँले बताउनु भयो । तर आफ्नो सुझावलाई सरकारले गम्भीरतापूर्वक नलिएको उहाँको गुनासो छ ।

उहाँले आफूले प्रयाप्त अध्ययन गरेर नै बाढी–पहिरोका बारेमा बोलेको उल्लेख गर्नुभयो । त्यस्तै गौतमले सहकारीका कारण भ्रष्टाचार व्याप्त देखिएकाले सहकारी दुरुपयोगमा संलग्नलाई निर्मम तवरले कारवाही गर्नुपर्ने बताउनु भयो । उहाँले कुनै पार्टी वा व्यक्ति नहेरी सहकारी प्रकरणका दोषीलाई कारवाही गर्नुपर्ने बताउनुभयो ।