इजरायलमा दैनिकजसो हुने भिषण युद्धको त्रासमा रहेका प्रवासी नेपालीले सदस्यहरुबाट सहयोग संकलन गरेर बिपदमा परेका नेपालीको हितमा काम होस भनेर नेपाल सरकारलाई सहयोग उपलब्ध गराएका हुन ।
काठमाडौं, कात्तिक २५ । प्रवासी नेपाली मञ्च (ओएनएफ) इजरायलले प्रधानमन्त्री बिपद राहत कोषमा सहयोग गरेको छ । ओएनएफ इजरायलले जनताटाइम्स डटकममार्फत प्रधानमन्त्री बिपद कोषमा ३ लाख रुपैयाँ जम्मा गरेको हो ।
पदाधिकारीसहित सदस्यहरुबाट संकलन गरी पठाइएको ३ लाख रुपैया राष्ट्रिय बाणिज्य बैंकको खाता नम्बर ११३०१००००३७६२००१ मा सो रकम जम्मा गरेको छ । बाणिज्य बैंकका ‘पिएम दैवी प्रकोप उद्धार कोष’को नाममा रहेको सो खातामा ओएनएफ इजरायलले पठाएको रकम जम्मा गरिएको हो ।
गत असोज ११ र १२ गते मातृभूमि नेपालमा आएको भिषण बर्षा र बाढीपहिरो पीडितलाई सहयोग होस भन्ने हेतुले सहयोग गरिएको प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका सदस्य तथा इजरायल इञ्चार्ज ज्योती शर्माले बताउनु भयो ।
‘इजरायलमा कार्यरत मञ्चका सदस्यहरुबाट संकलन गरी मातृभूमिका परेको संकटमा थोरै भएपनि सहयोग होस भनेर सो रकम सहयोग गरिएको हो, बिदेशी भूमिमा रहँदा पनि हामी मातृभूमिको पीडामा मल्हम लगाउन सधै तत्पर छौं भन्ने सन्देश पनि दिन चाहेका हौं,’ इञ्चार्ज शर्माले भन्नुभयो ।
प्रवासी नेपाली मञ्च इजरायलकी अध्यक्ष गीता सुवेदीले नेपालमा बाढी पहिरोको प्रकोप भएलगत्तैबाट सो रकम संकलनको अभियान थाल्नुभएको थियो । अध्यक्ष सुवेदीसहित उपाध्यक्ष शिवराज खड्का, सचिव रमेश जोशी, उपसचिव इन्दिरा कटुवाल, आर्थिक बिभाग प्रमुख रश्मी राई (गुँरास) सहित कार्यसमितिका सदस्यहरुले पहलकदमी लिनुभएको थियो ।
‘हामीले आफ्नो श्रम गरेर आर्जन गरेको पैसा जोगाएर थोरै भएपनि सहयोग गरेका हौं । धन कमाएर वा भएर होइन, मन भएर सहयोग गरेको हौं,’ ओएनएफ इजरायलकी अध्यक्ष सुवेदीले भन्नुभयो ।
इजरायलमा दैनिकजसो हुने भिषण युद्धको त्रासमा रहेका प्रवासी नेपालीले आफ्नो गाँस कटाएर नेपाल सरकारलाई सहयोग गरेका हुन । ‘देशको पीडा हाम्रो पीडाभन्दा ठूलो हो, देशको पीडामा सवै नागरिक एकजुट बन्नुपर्छ भन्ने भावनाका साथ सहयोग गरेका हौं,’ अध्यक्ष सुवेदीले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्