जनता टाइम्स

९ मंसिर २०८१, आईतवार ११:४५

बिहानै रवि, छवी र पछाईँलाई अदालत उपस्थित गराइयो


पोखरा, ९ मंसिर । सहकारी ठगी प्रकरणमा पक्राउ पर्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । उहाँसंग छवीलाल जोशी, लिला पछाईलाई पनि अदालत पुर्याइएको छ ।

गत कात्तिक २५ गते थपिएको १३ दिनको म्याद सकिएकाले आज फेरि अदालत उपस्थित गराइएको हो । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि २ कात्तिकमा काठमाडौंबाट पक्राउ गरिएका लामिछाने हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा हुनुहुन्छ । उहाँमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान भइरहेको छ ।

पोखराको सूर्यदर्शन सहकारीको रकम काठमाडौंस्थित गोर्खा मिडिया प्रालिमा प्रयोग गरेर अपचलन गरेको आरोप लामिछाने माथि छ । पोखराको सूर्यदर्शन सहकारीबाट करिब ५ करोड रुपैयाँ गोर्खा मिडियामा गएको भन्दै मिडियाका अध्यक्ष जीबी राई, तत्कालीन प्रबन्धक रवि लामिछाने, सञ्चालक छविलाल जोशी, कुमार रम्तेल लगायत विरुद्ध उजुरी परेको छ ।

संसदीय छानबिन विशेष समितिले पनि उहाँहरुलाई दोषी देखाउँदै थप अनुसन्धानका लागि सिफारिस गरेको थियो । समितिको सिफारिस लगत्तै रवि र छविलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ भने जीबी फरार छन् ।

चितवनको सहारा सहकारीको रकम पनि गोर्खा मिडियामा प्रयोग गरेर अपचलन गरेको आरोप रवि लामिछानेलाई छ । जिल्ला अदालत चितवनले मंसिर ७ गते रविसहित १० जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

प्रहरीका अनुसार पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम सहकारी र चितवनको सहारा सहकारीबाट रवि लामिछानेकै नाममा कुनै पनि कर्जा गएको देखिएको छैन । तर यी सहकारीको रकम गोर्खा मिडिया प्रालिमा गएको देखिएको र त्यसपछिको कारोबार तथा खर्चमा रवि पनि जोडिएकाले उहाँ अनुसन्धानको दायरामा पर्नुभएको हो ।
कास्की अदालतबाट म्याद थप गरेर लामिछानेलाई काठमाडौं लगिने बताइएको छ । काठमाडौं जिल्ला अदालतबाट पनि उहाँका नाममा पक्राउ पुर्जी जारी भएको छ ।

रास्वपाले भने लामिछानेको पक्राउलाई राजनीति प्रेरित भएको दाबी गर्दै आएको छ ।