काठमाडौं, मंसिर १३ । राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष अमित लामाले नेकपा एमालेले काठमाडौंको दरबार मार्गमा गरेको विशाल जागरणसभाबाट निस्केको फोहोर आफूहरुले उठाएको बताउनुभएको छ । उहाँले मंसिर ७ गतेको जागरणसभाको फोहोर भोलिपल्ट बिहान दुई ट्रक सङ्कलन भयो भनेर प्रायोजित मिडियालाई प्रयोग गरी नेकपा एमालेलाई बदनाम गराउन खोजेकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै एमालेले अहिलेसम्म गरेका सभा र सम्मेलनको फोहर व्यवस्थापन पार्टींले नै गरेको बताउनुभयो ।
कार्यक्रम समापन भएपछि युवा संघलगायतका साथीहरू सरसफाइमा केन्द्रित भएको बताउँदै उहाँले भन्नुभयो, ‘हामीले जति पनि सभा र सम्मेलनहरू भएका छन् त्यसको सफाइ गर्छौं, काठमाडौंमा पनि राति ११ बजेसम्म हामीले कार्यक्रमस्थल सफा गरिसकेका थियौं, तर हामीलाई फोहोरसँग जोडेर विभिन्न प्रचारबाजी गर्ने काम भयो । यस कामको हामी खण्डन गर्छौं ।’
काठमाडौंमा अन्य दलहरूले पनि कार्यक्रमहरू गरिरहेको र फोहोर गरे पनि महानगरले पत्राचार नगरेको भन्दै उपाध्यक्ष लामाले भन्नुभयो,‘यो सरासर नेकपा एमालेप्रतिको लक्षित अभियान हो, तर हामीले बालेनलाई असफल बनाएका छौं । बालेन नेकपा एमालेप्रति आक्रामक हुनु एकपक्षीय रूपमा नेकपा एमालेको पछाडि लाग्नु पक्कै पनि राम्रो होइन । यसको जवाफ काठमाडौंका जनताले आवश्यक भए पछि दिनेछन् ।’
उहाँले सुनियोजित ढङ्गले कथित युट्युबर प्रयोग गरी एमालेलाई बदनाम गर्न खोजिएकोप्रति आफूहरुको गम्भीर आपत्ति जनाउनुभयो । ‘काठमाडौं, त्यहाँमाथि पनि व्यवसायिक स्थानको फोहोर बिहानको समयमै उठाउने गरिन्छ, तर दैनिक गरिने उक्त फोहोर उठाउने कार्यसँग हाम्रो पार्टीलाई जोडेर बदनाम गराउन खोज्नु खेदजनक छ, यसबाट नै महानगरको नियत प्रस्ट हुन्छ । भ्रमबाट मुक्त हुन सम्पूर्ण काठमाडौं महानगरवासी र देशभरका सचेत नागरिकहरूलाई हार्दिक अनुरोध गर्दछु’, लामाले थप्नुभयो,‘नेकपा एमाले विकास र सम्मृद्धिको पक्षमा हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहनेछ । कसैले अनावश्यक हल्ला पिटेको भरमै नेकपा एमाले विचलित हुँदैन । अनावश्यक हल्ला गर्नेहरूसँग कडा प्रतिवाद गर्दै नेकपा एमाले समृद्धिको यात्रामा निरन्तर लागिरहन्छ ।’
प्रतिक्रिया दिनुहोस्