काठमाडौं, माघ २२ । सरकारले २०८२ साल जेठ पहिलो साता काठमाडौंमा सगरमाथा संवाद आयोजना गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय मंगलबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले २०८२ साल जेठ २, ३ र ४ गते काठमाडौंमा सगरमाथा संवाद आयोजना गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
बैठकले काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाभित्रका सम्बन्धित मुद्दाको काम, कारबाही तथा किनारा गर्ने क्षेत्राधिकारसहित काठमाडौं उपत्यका मुकाम रहने गरी उपभोक्ता अदालत गठन गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । बैठकले बाल सुधार गृह भक्तपुर, मोरङ र कास्की तथा बाँकेको सञ्चालन र व्यवस्थापनको लागि महिला बालबालिका मन्त्रालय र न्यूनतम सुविधा विहीन बालबालिकाका लागि शैक्षिक कार्यक्रमबिच भएको सम्झौताको अवधि २०८२ साल असार मसान्तसम्मका लागि थप गर्ने निर्णय गरेको छ ।
यस्तै सहरी विकास मन्त्रालयअन्तर्गत सञ्चालन हुने कार्यक्रमहरूका लागि चालू आर्थिक वर्षमा अधिकृत स्तरका थप १० अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता गुरुङले बताउनुभयो । बैठकले विश्वविद्यालय अनुदान आयोग आर्थिक कार्यविधि नियमावली, २०८१ स्वीकृत गरेको छ भने आन्तरिक नियन्त्रण प्रणाली दिग्दर्शन, २०८१, विशेष आर्थिक क्षेत्र (दोस्रो संशोधन) नियमावली २०८१ स्वीकृत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्