जनता टाइम्स

२ फाल्गुन २०८१, शुक्रबार ०७:०६

९ सहरमा वायु प्रदूषण उच्च (काठमाडौं विश्वकै तेस्रो)


काठमाडौं, २ फागुन ।  गण्डकी प्रदेश राजधानी पोखरा नेपालकै सबैभन्दा बढी प्रदूषित सहरमा लगातार ३ दिनदेखि पर्दै आएको छ । वन तथा वातावरण मन्त्रालय, वातवारण विभाग अन्तर्गतको वायु गुणस्तर निगरानीले शुक्रबार बिहान पौने ६ बजेसम्म पोखराको वायु प्रदूषण २०३ एक्यूआई मापन गरेको हो ।

विभागको तथ्यांकअनुसार यो पोखराका लागि पछिल्लो ३ दिनयताकै सबैभन्दा खराब सूचकांक हो । वायु गुणस्तर निगरानीले पोखराको लामाचौरस्थित गण्डकी बोर्डिङ स्कुललाई आधार मानेर वायु गुणस्तर मापन गर्दै आएको छ ।
वातावरण विभागले पोखरासहित देशका विभिन्न ९ सहरमा वायु प्रदूषण खराब स्थितिमा छ । भक्तपुर १८६ एक्यूआईसहित दोस्रो स्थानमा छ । केही दिनअघिसम्म देशकै प्रदूषित सहरको अग्रस्थानमा रहेको काठमाडौं शंखपार्क आज १८९ एक्यूआईसहित तेस्रो स्थानमा छ ।
भैंसेपाटी क्षेत्रको वायु प्रदूषण १७९, हेटौंडा १७४, रत्नपार्क १७१, खुमल्टार १६९, भरतपुर १६४, धनगढी क्षेत्रको १६२ एक्यूआई मापन गरिएको छ ।

५० एक्यूआईभन्दा माथि प्रदूषण सूचकांक कटेमा उक्त वायुलाई अस्वस्थ मानिन्छ ।वातावरण विभागका अनुसार ०.५० एक्यूआईसम्मको सूचकांक मात्रै राम्रो मानिन्छ । ५१.१०० मध्यम, १०१.१५० हुँदा अस्वस्थ, १५१.२०० अस्वस्थ, २०१.३०० निकै अस्वस्थ र ३०१ एक्यूआई भएमा खतरनाक तहमा पुगेको मानिन्छ ।
मंसिरदेखि जेठ महिनासम्म वायु प्रदूषण उच्च हुने भएकाले सुरक्षा अपनाउन वातावरण विभागले सूचनामार्फत जानकारी दिएको छ । ‘वायू प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने र विशेष गरी बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वास र मुटुका बिरामी, गर्भवती महिलाहरुलाई बढी प्रभाव पार्ने भएकाले यस्तोबेला विशेष सावधानी अपनाउन अनुरोध छ’, विभागले सूचना जारी गर्दै भनेको छ ।

विश्वकै तेस्रो प्रदूषित सहर काठमाडौं

विश्वभरको तथ्यांकमा भने नेपाल समग्र तेस्रो स्थानमा छ ।

विश्वभरको मुख्य मुख्य क्षेत्रको वायु स्वच्छता जाँच्दै आएको आईक्यू एअरले यो समाचार तयार पार्दासम्म काठमाडौंको वायु प्रदूषण १७५ एक्यूआई मापन गरेको छ । पछिल्लो २४ घन्टामा नेपाल विश्वकै दोस्रो प्रदूषित सहर बनेको थियो । बिहीबार दिउँसो काठमाडौंको प्रदूषण मापन १९६ एक्यूआईसम्म गरिएको थियो । कंगोको किन्शासा सहर २११ एक्यूआईसहित विश्वको प्रदूषित सहरमा पहिलो नम्बरमा हुँदा दक्षिण एसियाली मुलुक पाकिस्तानको लाहोर १९९ एक्यूआईसहित दोस्रो स्थानमा छ ।