काठमाडौं, ६ फागुन । परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी ९केआईआईटी०मा नेपाली विद्यार्थीको अवस्था बुझ्न नेपाल प्रहरी पुगिसकेको बताउनुभएको छ ।
उहाँका अनुसार भारतस्थित नेपाली राजदूतावासबाट दुई जना प्रहरी मंगलबार बिहान केआईआईटीमा पुगिसकेका छन् ।
ती प्रहरीहरूसँग आफूले कुराकानी गरेको र घटनाको आवश्यक अनुसन्धानका लागि भारतीय सुरक्षाकर्मीसँग समन्वय गर्न भनेको परराष्ट्र मन्त्रीले जानकारी दिनुभयो ।
केआईआईटीमा अध्ययन गर्ने नेपालकी प्रकृति लम्सालको गत आइतबार मृत्यु भएको थियो । यसपछि भएका घटनाक्रमबारे परराष्ट्र मन्त्रालयले निरन्तर रूपमा फलोअप गरिरहेको परराष्ट्रमन्त्रीले जनाउनुभएको छ ।
परराष्ट्रमन्त्रीले सामाजिक सञ्जालमा भन्नुभएको छः
भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी ९केआईआईटी० विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित परिस्थितिलाई हामीले निरन्तर रुपमा फलो अप गरिरहेका छौँ । नेपाली विद्यार्थीको अवस्था बुझ्न र त्यहाँ रहेका नेपाली विद्यार्थीलाई कलेजमा सुरक्षाको वातावरण मिलाउने सन्दर्भमा नेपाली राजदूताबास नयाँ दिल्लीबाट नेपाल प्रहरीका दुइजना बरिष्ठ अधिकारी आज बिहानै विश्वविद्यालय पुग्नुभएको छ ।
मैले उहाँहरूसँग फोनमा कुरा गरी घटनाको आवश्यक अनुसन्धानका लागि भारतीय सुरक्षाकर्मीसँग समन्वय गर्न तथा नेपाली विद्यार्थीलाई आवश्यक सहयोग र होस्टलमा सुरक्षित रूपमा रहनका लागि विश्वविद्यालय प्रशासनसँग समन्वय गर्न निर्देशन दिएकी छु । यस विषयमा नेपाली दूतावास दिल्लीले आवश्यक पहल गरिरहेकै छ । हिजोको कूटनीतिक प्रयासपछि कलेजले विद्यार्थीहरूलाई होस्टेलमा फर्कन अपिल गरिसकेको छ भने नेपाली विद्यार्थीलाई दुर्व्यवहार गर्ने स्टाफलाई कारबाही गरिसकिएको जानकारी पनि विश्वविद्यालयले सार्वजनिक सूचना मार्फत गराएको छ ।
यस विषयमा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास दिल्लीले विश्वविद्यालय प्रशासन र भारतीय सुरक्षा अधिकारीको सम्पर्कमा रहेर आवश्यक समन्वयका साथ काम गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्