कञ्चनपुर, फागुन १३ । नेकपा एमालेका सचिव लेखराज भट्टले मानिस नयाँ पुरानो जो भए पनि विचार नयाँ हुनु पर्ने बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल कञ्चनपुर शाखाको आठौँ जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सचिवभट्टले सोच र दृष्टिकोण नयाँ हुनु पर्ने बताउनुभयो ।
वर्तमान विश्व परिवेशलाई हेरेर अहिलेको वर्तमानमा अघि बढ्न सक्ने नेतृत्व आजको आवश्यकता रहेको उहाँले स्पष्ट पार्नुभयो । ‘अहिले विश्व जुन गतिमा गएको छ, त्यो गतिलाई बुझ्न आवश्यक छ, देशलाई बुझेर नेपाली जनताको मनोविज्ञानलाई बुझेर नीति निर्माण गर्न सक्ने नेतृत्व आवश्यक छ’, उहाँले भन्नुभयो ।
जनताको बहुदलीय जनवादले नेपालको अहिलेको आवश्यकतालाई कसरी समातेको छ भन्ने कुरा ख्याल गर्नुपर्नेमा प नि भट्टले जोड दिनुभयो । अहिलेको आवश्यकतालाई सम्बोधन गर्न सक्ने विचार जनताको बहुदलीय जनवाद र पार्टी नेकपा एमाले भएको उहाँले बताउनु भयो ।
देशमा गणतन्त्र र संविधान विरोधीहरू मौलाएको भन्दै अब राजतन्त्र फर्कने कुरा सम्भव नरहेको उहाँले स्पष्ट पार्नुभयो । ‘मरेको मुर्दालाई जगाएर हामी ल्याउँछौँ भन्दै छौँ, राज आएर देश बचाउन सक्दछ ?’, भट्टले भन्नुभयो ।
राष्ट्रियताको कुरा उठाउनेहरूको राष्ट्रवाद भारतमा नेपाली विद्यार्थीको ज्यान जाँदा कहाँ गयो भन्दै उहाँले प्रश्न गर्नुभयो । प्रधानमन्त्री केपी ओलीले ट्विट गर्दा समेत उग्र राष्ट्रवादका कुरा गर्नेहरू कहाँ गए भन्दै उहाँले प्रश्न गर्नुभयो । उग्र राष्ट्रवादी भनिनेहरू देश समाजमा अराजकता फैलाउन मात्र केन्द्रित रहेका उहाँले बताउनुभयो ।
भट्टले देशमा भएका स्रोत साधनको पहिचान र प्रयोग गरेर बिदेसिन चाहने युवालाई देशमा नै रोक्नु पर्ने बताउनुभयो । परजीवी बन्ने मनोविज्ञानलाई तोडेर अघि बढ्न आवश्यक रहेको बताउँदै उहाँले यसमा पत्रकारले भूमिका खेल्नु पर्नेमा जोड दिनुभयो । देश निर्माणको लागि नयाँ सोच र दृष्टिकोण आवश्यक रहेको उहाँले स्पष्ट पार्नुभयो ।
उहाँले सामाजिक सञ्जाल नियमन गर्ने विधेयक नियन्त्रणको लागि नभई नियमनको लागि आएको उहाँले बताउनुभयो । समाजमा हुने अराजकता रोक्न सो विधेयक ल्याइएको भट्टले स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस्