जनता टाइम्स

२१ कार्तिक २०७६, बिहीबार ०८:०२

प्रतिनिधिसभा र प्रदेश सभा उपनिर्वाचनको मनोनयन आज, सवै दलको ध्यान कास्कीतिर


काठमाडौं, कात्तिक २१ । आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि आज मनोनयन पत्र दर्ता हुँदै छ । गत असोज १५ मा स्वीकृत उपनिर्वाचन कार्यक्रमबमोजिम आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सम्बन्धित क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयमा प्रतिनिधिसभा र प्रदेश सभा उम्मेदवारको मनोनयन पत्र दर्ता हुने निर्वाचन आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार आज दिउँसो साढे एक बजेदेखि ३ बजेसम्म मनोनयन पत्र दर्ता गरेका उम्मेदवारको सूची प्रकाशन गरिनेछ । यस्तै भोलि २२ गते बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, २३ गते बिहान ११ बजेदेखि दिउँसो १ं३० बजेसम्म मनोनयन पत्र र उजुरीउपर जाँचबुझ, २३ गते दिउँसो ३ बजेदेखि अपराह्न ५ बजेसम्म मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।् यस्तै २४ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने, त्यसै दिन ३ बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र २५ गते बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम आयोगले तय गरेको छ ।

मंसिर १४ गते प्रतिनिधिसभा सदस्य–१, प्रदेश सभा सदस्य–३, स्थानीय तहको प्रमुख–१, अध्यक्ष–३, उपाध्यक्ष–१ र वडाध्यक्ष–४३ गरी ५२ पदका लागि उपनिर्वाचन हुन लागेको हो । ३७ जिल्लाका ५२ स्थानमा हुने उपनिर्वाचनमा एक सय एक राजनीतिक दलले प्रतिस्पर्धा गर्दै छन् । उपनिर्वाचनका लागि १६ नयाँ दल दर्ता भएका छन् । ०७४ मा सम्पन्न स्थानीय तह, प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा भाग लिएका ८५ र नयाँ १६ गरी १०१ राजनीतिक दलले निर्वाचनमा सहभागिता जनाउन लागेका हुन् । निर्वाचनमा प्रतिस्पर्धा गर्ने दलहरूलाई आयोगले चुनावचिह्नसमेत प्रदान गरिसकेको छ ।

उपनिर्वाचनमा आयोगले चार लाख ५४ हजार एक सय १४ मतदाता निश्चित गरेको छ । ०७४ को निर्वाचनपछि १६ हजार दुई सय १९ मतदाता थपिएका हुन् । पुरुष मतदाता दुई लाख २० हजार सात सय १० र महिला मतदाता दुई लाख ३३ हजार चार सय दुई छन् । उपनिर्वाचनका लागि आयोगले २४७ मतदान स्थल र ५३७ मतदान केन्द्र तोकेको छ । आयोगले उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत ३७ र निर्वाचन अधिकृत ११ जना नियुक्त गरेको छ । त्यसैगरी, रिक्त स्थानीय तहका विभिन्न पदमा २७ कात्तिकमा मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम तय भएको छ ।

उपनिर्वाचनमा सत्तारूढ नेकपा र अर्को वामपन्थी घटक राजमोबीच तालमेल हुँदै छ । गत कात्तिक ६ गते नेकपा र राजमोका शीर्ष नेताहरूले उपनिर्वाचनमा तालमेल गर्ने निर्णय गरेका हुन् । सहमतिअनुसार प्रतिनिधिसभाको कास्की २, प्रदेश सभाको दाङ ३ (ख) र भक्तपुर १ (क) मा राजमोले नेकपाका उम्मेदवारलाई सघाउनेछ भने बाग्लुङ २ (ख) मा नेकपाले राजमो उम्मेदवारलाई सघाउनेछ ।

प्रतिनिधिसभाको एक मात्र उपनिर्वाचन कास्कीमा तात्कालिन पर्यटनमन्त्री रविन्द्र अधिकारीकी धर्मपत्नीसमेत रहनुभएकी अनेरास्वबियूकी पुर्वसचिव प्राध्यापक बिद्या भट्टराईलाई नेकपाले उम्मेद्वार बनाएको छ । रवीन्द्र अधिकारीको उत्तराधिकारीका रुपमा नेकपाले उहाँकीपत्नी बिद्यालाई उम्मेद्वार बनाएको हो । भट्टराईले आफू कास्कीकी छोरीको रुपमा काम गर्ने भन्दै रविन्द्र अधिकारीकै जन्मथलोबाट चुनावी अभियान अघि बढाउने घोषणा गरिसक्नुभएको छ ।