– प्रदीप कटुवाल –
नेपालको समृद्धि केवल राजनीतिक नारामा सीमित छैन। यसको जरो हाम्रो साझा सोच, सच्चा सङ्कल्प र एकतामा छ। जबसम्म हामी सबै नेपालीले राष्ट्रिय हितलाई प्राथमिकता दिँदैनौँ, तबसम्म समृद्धिको सपना अधुरो नै रहनेछ।
विकास र समृद्धिको आधारभूत प्रेरणा मानव जीवनको सतत प्रयास, चेतना, र नेतृत्वमा निहित छ। जब व्यक्ति ज्ञान र दर्शनले परिचालित हुन्छ, ऊ समाजको हितमा क्रियाशील रहन्छ। इतिहास साक्षी छ-सभ्यता, संस्कृति र प्रगतिका महानतम उपलब्धिहरू सधैँ मानव चेतनाका उत्कृष्टतम अभ्यासबाट उत्पन्न भएका छन्।
ऐतिहासिक भूमि, चेतनशील मानवीय प्रयास
नेपाल, जुन बुद्धको जन्मभूमि हो, जसले शान्तिको सन्देश संसारभरि फैलायो । आज पनि शान्ति, स्थायित्व र समृद्धिको आशाले जीवित छ। यो भूमि जहाँ भृकुटीजस्ता शक्तिशाली नारीहरू, अरनि जस्ता सृजनशील कलाकारहरू र पृथ्वीनारायण शाहदेखि जननेता मदन भण्डारीसम्म राष्ट्र निर्माताहरूले योगदान दिएका छन्।
शताब्दीयौँको यात्रा पछि नेपालले आधुनिक लोकतन्त्र, गणतन्त्र, संघीयता र समावेशी संरचना अङ्गालेको छ। तर यो परिवर्तन स्वचालित होइन-नागरिक संघर्ष, आन्दोलन, विद्रोह र विचारका बलमा सम्भव भएको हो। अब यो राजनीतिक यात्रालाई आर्थिक समृद्धिमा रूपान्तरण गर्नु हाम्रो सबैभन्दा ठुलो कार्यभार हो।
अहिलेको परिस्थिति र चुनौतीहरू
विश्वले दुईवटा भीषण विश्वयुद्ध भोगेपछि विकास र शान्तिको बाटो रोज्यो। युरोप, अमेरिका, जापान, दक्षिण कोरिया, चीनजस्ता मुलुकहरूले युद्ध र अभावको इतिहासलाई पछाडि छोड्दै विज्ञान, प्रविधि, श्रम र योजना समन्वयमार्फत समृद्धिको ढोका खोले।
नेपाल आज पनि राजनीतिक अन्योल, बेरोजगारी, युवा पलायन, शिक्षा र स्वास्थ्यमा असमानता, आन्तरिक द्वन्द्व र विकासको असमान पहुँच जस्ता चुनौतीबाट गुज्रिरहेको छ। नीति बनाउने र कार्यान्वयन गर्ने बिचको दूरी, नेतृत्वको दायित्व र जनताको अपेक्षाबिचको अन्तर, अझै गहिरो छ।
सहकार्य र मेलमिलापको नयाँ राजनीति
नेपालमा आजको आवश्यकता हो–सहकार्य, संयम र साझा दृष्टिकोण। नेकपा एमाले र नेपाली कांग्रेस बिच देखिएको हालको सहकार्य केवल सत्ता साझेदारीको होइन, राष्ट्रिय आवश्यकताको अभिव्यक्ति हो।
नेकपा एमालेले विगतमा पनि सामाजिक सुरक्षा योजना, ‘आफ्नो गाउँ आफैँ बनाऊँ’, आधारभूत पूर्वाधार विस्तार, राष्ट्रिय स्वाभिमानसहितको योजना कार्यान्वयनमा अग्रसरता देखाएको थियो। वर्तमान सन्दर्भमा पार्टीको नेतृत्वमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ मार्ग, खानी अनुसन्धान, पेट्रोलियम अन्वेषण, सडक विस्तार, आयुर्वेद अनुसन्धानजस्ता योजना अघि बढाउनु भएको छ ।
यस्ता योजनाहरू तत्काल लाभभन्दा दीर्घकालीन सोचको उपज हुन्। तीमाथि आलोचना हुनु स्वाभाविक हो, तर गम्भीर मूल्याङ्कनले तिनको दूरगामी सम्भावनालाई उजागर गर्छ।
नेतृत्व, संगठन र दृष्टिकोणको भूमिका
राष्ट्रको समृद्धिका लागि सक्षम नेतृत्व अनिवार्य हुन्छ। नेतृत्व त्यो शक्ति हो जसले दिशा मात्र देखाउँदैन, जनतालाई आशा दिन्छ, साथ दिन्छ। एमालेले मदन भण्डारीको मार्गदर्शनमा जनताको बहुदलीय जनवादको विचार अघि सारेको थियो- जुन प्रजातान्त्रिक मूल्य र सामाजिक न्यायबिचको समन्वयको प्रयास थियो।
प्रगतिको यात्रामा प्रधानमन्त्री मनमोहन अधिकारीको समयदेखि नै हामीले ‘लोककल्याणकारी राज्य’को आधार खडा गर्ने प्रयास देखेका थियौँ। आज केपी ओलीको कार्यकालमा राष्ट्रियताप्रतिको दृढता, पूर्वाधारमा लगानी र अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलनमा राख्ने चेष्टा देखिन्छ।
चिनियाँ मोडलको सन्दर्भ
चीनले १९७८ मा देङ श्याओ पिङको नेतृत्वमा खुला अर्थनीति (Open-Door Policy) अपनायो। सोही नीतिले चीनलाई कृषिप्रधान समाजबाट विश्वकै दोस्रो ठुलो अर्थतन्त्र बनायो। चीनमा स्थानीय तहलाई उत्पादन, व्यापार र लगानीको स्वतन्त्रता दिइयो, जसले विकासको गतिमा सहकारी प्रतिस्पर्धा ल्यायो।
नेपालमा पनि संघीयताको मर्म यही हो-स्थानीय सरकारलाई सेवा, योजना र कार्यान्वयनमा स्वायत्तता दिई, केन्द्रीय सरकार समन्वयकर्ता बन्नु। यसका लागि प्रशासनिक क्षमता, बजेटको पहुँच र जिम्मेवार नेतृत्व अपरिहार्य छन्।
राष्ट्रिय एकताको सन्देश
नेपालको राष्ट्रिय हितको मूल शब्द हो– एकता। राजनीतिक असहमति प्राकृतिक हो, तर राष्ट्रिय एजेन्डामा सहकार्य आवश्यक हुन्छ। जब राजनीतिक दलहरू साझा न्यूनतम कार्यक्रममा सहमति जनाउँछन्, तब जनता पनि आशावादी बन्छन्।
आज राष्ट्रले राजनीतिक स्थायित्वको खाँचो महसुस गरिरहेको छ। सत्ता बदलिनु स्वाभाविक हो, तर नीति बदलिनु हानिकारक हुन्छ। शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, ऊर्जा, पूर्वाधार, रोजगारीजस्ता क्षेत्रमा दीर्घकालीन दृष्टि आवश्यक छ।
युवा, प्रविधि र श्रम: समृद्धिको प्रमुख आधार
देशको ५५ प्रतिशतभन्दा बढी जनसङ्ख्या ३० वर्षमुनिका युवाहरू छन्। यदि हामीले प्रविधि, सीप र रोजगारीमार्फत युवालाई सक्षम बनाएनौँ भने देशको समृद्धि सम्भव छैन। प्रविधि आजको युगको शक्ति हो। ई-गभर्नेन्स, डिजिटल शिक्षा, टेलिमेडिसिन, स्मार्ट कृषि, हरित ऊर्जा-यी सबै क्षेत्रमा युवा शक्ति आवश्यक छ।
अर्को महत्त्वपूर्ण पक्ष हो- विदेशमा रहेका लाखौँ नेपालीको अनुभव, पुँजी र सीपलाई स्वदेशमै उपयोग गर्ने नीति निर्माण गर्नु। ‘ब्रेन ड्रेन’लाई ‘ब्रेन गेन’मा रूपान्तरण गर्न सक्ने नेतृत्व आजको माग हो।
अबको बाटो
अब प्रश्न उठ्छ-के हाम्रो सपना यथार्थ बन्न सक्छ ? के “समृद्ध नेपाल, सुखी नेपाली” केवल नारामा सीमित रहन्छ ?
उत्तर हो-यदि हामी सबै नागरिकले राष्ट्रियता, सादगी, सेवा र सच्चाइलाई अपनायौँ भने पक्कै पनि सम्भव छ। राज्यले योजनामा स्पष्टता ल्याउनुपर्छ, कार्यान्वयनमा चुस्तता र निगरानीमा पारदर्शिता कायम गर्नुपर्छ। जनता सचेत हुनुपर्छ, राजनीतिक दलहरू जबाफदेही बन्नुपर्छ।
आफ्नो ठाउँ, आफ्नो काम, आफ्नै स्रोत र सीप प्रयोग गरेर पनि देश समृद्ध बनाउन सकिन्छ भन्ने आत्मविश्वास निर्माण गर्नु आजको पहिलो सर्त हो। देशलाई समृद्ध बनाउन ठुला-ठूला योजनाभन्दा पहिले साँचो प्रतिबद्धता र राष्ट्र प्रेम आवश्यक छ।
त्यसैले, कुनै पनि भ्रम, कुण्ठा वा निराशामा नपरी हामी एक भएर, योजनाबद्ध ढंगले, दृढ इच्छाशक्ति र दूरदर्शीसँग अघि बढ्नुपर्छ। त्यो बाटो अन्ततः समृद्धि र सन्तोषतर्फ पुग्छ।













प्रतिक्रिया दिनुहोस्