जनता टाइम्स

२६ असार २०८३, शुक्रबार १४:०४

एमालेले भन्यो : प्रताडना मात्र दिने राज्य संयन्त्रको दबाबले गणेश नेपाली आत्मदाह गर्न बाध्य 


नेकपा एमालेले प्रताडना मात्र दिने राज्य संयन्त्रको दबाबले गणेश नेपाली आत्मदाह गर्न बाध्य भएको बताएको छ ।

एमाले महासचिव शंकर पोखरेलले शुक्रबार बक्तब्य जारी गरि यस्तो निश्कर्ष सार्वजनिक गर्नुभएको हो ।

 

पूर्णपाठ

पारदर्शिता, सुशासन र युवा रोजगारीको नारा अघि सारेर, जनमत बटुली सत्तामा पुगेको वर्तमान सरकार आफ्ना शृङ्खलाबद्ध जनविरोधी कार्यहरूका कारण जनसमक्ष पूर्ण रूपमा नाङ्गिँदै गएको छ। आधारभूत वर्गका जनतालाई संरक्षण दिनुपर्ने राज्य आफैँ निमुखा नागरिकको गाँस र बास खोस्न उद्यत हुनु अत्यन्तै विडम्बनापूर्ण र निन्दनीय विषय हो।
कर्णालीको विकट मुगु जिल्लाबाट काठमाडौँ आई, आफ्नो परिवार पाल्नका लागि ‘राइडर’ (Rider) का रूपमा संघर्ष गरिरहेका २५ वर्षीय युवा गणेश नेपालीले गरेको आत्मदाहको घटनाले देशलाई नै स्तब्ध बनाएको छ। नागरिकलाई गरिखाने वातावरण दिनुको साटो निराशा र प्रताडना मात्र दिने राज्य संयन्त्रको दबाबका कारण उहाँले यो आत्मघाती कदम चाल्नुभएको स्पष्ट छ। उपचारका क्रममा आजै भएको उहाँको दुःखद निधनप्रति नेकपा (एमाले) गहिरो दुःख व्यक्त गर्दछ।
हाम्रो पार्टी मृतक गणेश नेपालीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक-सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ। साथै, यस दुःखद घटनाको निष्पक्ष छानबिन गरी दोषीहरूलाई कडा कानुनी कारबाही गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन सरकारसँग जोडदार माग गर्दछ।
सरकारको जनविरोधि र गरिव मारा काम श्रृङखला बद्धरुपमा जारी छ । सरकारले सुकुम्बासी बस्ती हटाउने नाममा गरिब र निमुखा नागरिकहरूलाई मध्य वर्षाको समयमा घरबारविहीन बनाएर सडकमा पुर्‍याएको छ। यस अमानवीय कदमका कारण हजारौँ नागरिकले आवासको अधिकार मात्र गुमाएका छैनन्, सयौँ बालबालिकाहरू शिक्षा प्राप्त गर्ने मौलिक अधिकारबाट समेत वञ्चित भएका छन्। सरकारको स्वेच्छाचारी र बलमिच्याइँपूर्ण व्यवहारका कारण हालसम्म चारजना सुकुम्बासी नागरिकले आत्महत्या जस्तो आत्मघाती निर्णय लिन बाध्य भएका छन् भने सयौँ नागरिक डिप्रेसनको सिकार बनेका छन्।
सरकार गठन भएको प्रारम्भिक १०० दिनभित्रै उचित व्यवस्थापनको अभाव, मानसिक तनाव तथा विस्थापनको त्रासका कारण भेषराज दर्जी, कर्णबहादुर थापा, रिन तामाङ, इन्द्रबहादुर राई र उज्ज्वल तामाङ लगायतका नागरिकले ज्यान गुमाउनुपरेको घटनाप्रति हामी गहिरो दुख व्यक्त गर्दछौँ ।
राज्यले नै व्यवस्थापन गरेका अस्थायी होल्डिङ सेन्टरहरूबाट समेत नागरिकलाई हठात् हट्न अल्टिमेटम दिने, धाकधम्की दिने र भोकमरीको जोखिममा धकेल्ने जस्ता कार्यहरू सर्वथा अमानवीय छन्। राज्यको यस्तो व्यवहार लोकतान्त्रिक शासन प्रणाली र लोककल्याणकारी राज्यको अवधारणाको विपरीत छ।
लोकतन्त्रमा जनमत वा जनादेशको अर्थ स्वेच्छाचारिता र निरङ्कुशता कदापि हुन सक्दैन। नेपालको संविधानले प्रत्याभूत गरेको नागरिकको ‘बाँच्न पाउने अधिकार’ र ‘सुरक्षित आवासको अधिकार’ को पूर्ण सम्मान गर्न हामी सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौँ। गरिब र निमुखा नागरिकमाथिको दमन तत्काल बन्द गरी उनीहरूको उचित विकल्प र सुरक्षित व्यवस्थापन गर्न नेकपा (एमाले) जोड्दार माग गर्दछ ।

शंकर पोखरेल
महासचिव