जनता टाइम्स

७ भाद्र २०८२, शनिबार १६:५६

नाडामा लन्च भयो फोटोनको ई–टुनल्याण्ड, एक पटककाे चार्जमै ४०० किमि यात्रा गर्न सकिने


काठमाडौं। राजधानीको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२५ मा शुक्रबार फोटोनको नयाँ विद्युतीय गाडी फोटोन ई–टुनल्याण्ड सार्वजनिक गरिएको छ।

नेपालमा फोटोन गाडीको आधिकारिक वितरक एमएडब्ल्यू वृद्धि कमर्सियल भेहिकल्सले नयाँ मोडल नेपाली बजारमा प्रस्तुत गरेको हो।

फोटोन ई–टुनल्याण्ड एक अत्याधुनिक विद्युतीय पिकअप गाडी हो, जसमा शक्तिशाली ब्याट्री, उच्च क्षमता, सुरक्षा र आरामका विशेषताहरू समावेश गरिएको छ। कम्पनीका अनुसार, यसमा करिब ८८ किलोवाट आवर क्षमताको ब्याट्री प्याक जडान गरिएको छ, जसले करिब ३५० देखि ४०० किलोमिटर सम्मको यात्रा गर्न सक्ने दाबी गरिएको छ। साथै, द्रुत चार्जिङ प्रविधिबाट छोटो समयमा ब्याट्री चार्ज गर्न सकिने सुविधा छ।

यस गाडीमा दुई मोटर प्रविधि, चार पाङ्ग्रे ड्राइभ, र कठिन भौगोलिक क्षेत्रमा समेत सजिलै सञ्चालन गर्न सक्ने शक्ति रहेको कम्पनीले जनाएको छ। साथै, एबीएस, ईएसपी, बहु–एयरब्याग, ठूला डिस्प्ले, ब्लुटुथ कनेक्टिभिटी, आरामदायी सिट र पर्याप्त लगेज स्पेस जस्ता विशेषताहरू पनि उपलब्ध छन्।

मूल्य: कम्पनीले फोटोन ई–टुनल्याण्डको प्रारम्भिक मूल्य करिब १ करोड १५ लाख रुपैयाँदेखि सुरु हुने जनाएको छ। मूल्य भर्सन र सुविधाअनुसार फरक–फरक हुने बताइएको छ।

नाडा अटो शोमा सार्वजनिक गरिएको यो नयाँ विद्युतीय गाडीले नेपाली बजारमा विद्युतीय पिकअप सेग्मेन्टमा नयाँ विकल्प थपेको छ। कम्पनीले देशभर रहेका आफ्ना सेवा केन्द्रमार्फत बिक्रीसँगै मर्मत तथा स्पेयर पार्ट्स सेवा उपलब्ध गराउने पनि जनाएको छ।