जनता टाइम्स

१३ भाद्र २०८२, शुक्रबार २०:४४

चन्द्र ग्रहण लाग्दै छ ? चन्द्रमा किन देखिँदै छ ‘रातो’ कहाँबाट कसरी हेर्ने ?


काठमाडौं, १३ भदौ। पूर्णिमाको रात आकाशमा पूर्ण चन्द्रमाको मुहार विस्तारै परिवर्तन भइरहेको अवलोकन गर्दा जादुमयी अनुभव प्राप्त हुन्छ । हजारौँ वर्षदेखि, मानव जातिले असंख्य चन्द्रग्रहण र चन्द्रमाको रंग सेतोबाट सुन्तला हुँदै रातोमा परिवर्तन भएको देख्दै आएको छ ।
सूर्यग्रहणको अवलोकन गर्दा विशेष आँखा सुरक्षाको आवश्यकता पर्छ । र, केही मिनेटमात्र रहन्छ । तर, यसको विपरीत चन्द्रग्रहण लामो समयसम्म चल्छ । हेर्न सजिलो हुन्छ । नांगो आँखाले हेर्न पूर्णरूपमा सुरक्षित हुन्छ । यस वर्ष आकाश अवलोकनकर्ताका लागि एक विशेष उपहार छ । किनभने, सेप्टेम्बरमा एक सानदार पूर्ण चन्द्रग्रहण हुँदै छ । यो एसिया, अफ्रिका र अस्ट्रेलियाका धेरै भागबाट स्पष्टरूपमा देखिनेछ ।

(ब्लड मुन) के हो , यो किन हुन्छ ?

रक्तचन्द्र पूर्ण चन्द्रग्रहणलाई दिइएको एक उपनाम हो । जुन चन्द्रमा पृथ्वीको छायामा पूर्णरूपमा प्रवेश गर्दा उत्पन्न हुन्छ । यस समयमा चन्द्रमा अँध्यारोमा हराउनुको सट्टा गहिरो रातो वा ताम्र रंगमा परिणत हुन्छ ।जब सूर्यको किरण पृथ्वीको वायुमण्डल हुँदै जान्छ । यो छानिन्छ र छरिन्छ । धेरै निलो प्रकाश छरिन्छ । जबकि, रातो प्रकाश पृथ्वीको वायुमण्डलको छेउबाट बांगिँदै चन्द्रमामा पुग्छ । जसले चन्द्रमालाई रहस्यमयी रातो चमक प्रदान गर्छ ।

यो प्रभाव सूर्यास्तको समयमा आकाश रातो देखिनुको कारणसँग मिल्दोजुल्दो छ । त्यसैले, यसको नाम रक्तचन्द्रले जेसुकै संकेत गरे पनि रगतसँग कुनै सम्बन्ध छैन । यो त केवल हाम्रो ग्रहको वायुमण्डलले चन्द्रमालाई रातो रंगमा रंगााउने प्रकृतिको सबैभन्दा सुन्दर र आकर्षक कला हो ।
यो पूर्ण रक्तचन्द्र ७ सेप्टेम्बर २०२५ (भदौ २२)को राति देखिने छ । बीबीसी स्काई एट नाइट म्यागजिनका अनुसार, यो पूर्ण खगोलीय घटना भारत, चीन, रुस, पश्चिमी अस्ट्रेलिया, पूर्वी अफ्रिका र मध्य एसियाबाट स्पष्टरूपमा देखिनेछ । ग्रहणको अवधि नेपाली समय सेप्टेम्बर ७ (भदौ २२) को राति ८ः४३ बजे सुरु भई सेप्टेम्बर ८ को बिहान २ः१० बजे समाप्त हुनेछ । तर ग्रहणको पूर्ण अवस्था भने सेप्टेम्बर ७ को राति १०ः४५ बजेदेखि सेप्टेम्बर ८ को बिहान १२ः०७ सम्म रहनेछ । ८२ मिनेट लामो पूर्ण चन्द्रग्रहण हालैका वर्षहरूमा देखिएका सबैभन्दा लामो पूर्ण चन्द्रग्रहणहरूमध्ये एक हो । साथै, यो चन्द्रमा पृथ्वीको सबैभन्दा नजिकको बिन्दु (पेरिजी) मा पुग्नुभन्दा ठिक अघि हुने भएकाले आकाशमा सामान्यभन्दा अलिकति ठूलो पनि देखिनेछ ।

कतिपयले आगामी पूर्ण चन्द्रग्रहणलाई मकै चन्द्र ग्रहण पनि भनिरहेका छन् । तर, यसको अर्थ थाहा पाउनु जरुरी छ । वर्षको प्रत्येक पूर्णिमालाई मौसम परिवर्तन वा त्यस समयमा हुने घटनाहरूमा आधारित परम्परागत उपनाम दिइने गरिन्छ । जस्तै, फेब्रुअरीको पूर्णिमालाई हिउँ चन्द्र भनिन्छ । यो किनभने त्यो समय सामान्यतः हिउँ पर्ने समय हो । त्यसैगरी, जुनको पूर्णिमालाई स्ट्रबेरी चन्द्र भनिन्छ । किनभने, उक्त समयमा स्ट्रबेरी टिप्ने गरिन्छ ।सेप्टेम्बरको पूर्णिमालाई ुमकै चन्द्र भनिन्छ । यो किनभने यो समय मकै भित्र्याउने समय हो । त्यसैले, यो रक्तचन्द्रलाई मकै चन्द्र नाम दिइनु २०२५ का लागि मात्र विशेष होइन । यो हरेक सेप्टेम्बरमा आउने पूर्णिमाको नाम हो । यस पटकको मकै चन्द्र विशेष छ । किनभने यो पूर्ण चन्द्रग्रहणमा पनि परिणत हुँदै छ । जसले यसलाई मकै चन्द्र ग्रहण बनाएको छ । यो सेप्टेम्बरमा, मकै चन्द्र ग्रहणले परम्परा र विज्ञानलाई एकैसाथ एक आश्चर्यजनक अनुभव प्रस्तुत गर्नेछ । रातको आकाशमा चन्द्रमा रातो रंगमा चम्किरहेको दृश्य अवलोकन गर्नु आकाश अवलोकनकर्ताका लागि यो केवल एक पूर्णिमाको अवलोकनमात्र होइन, प्रकृतिको सबैभन्दा आकर्षक प्रदर्शनहरूमध्ये एक हेर्ने अवसर पनि हो ।