जनता टाइम्स

२८ भाद्र २०८२, शनिबार ०६:५७

मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा, फागुन २१ गते आमनिर्वाचन


काठमाडौं, भदौ २८ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा गर्नुभएको छ। राष्ट्रपति पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटन गर्नुभएको हो ।

शुक्रबार राति नै प्रधानमन्त्री नियुक्त भएकी कार्कीले संसद विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने पहिलो निर्णय गर्नुभएको थियो । कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्नुअघि संसद विघटन गर्ने सहमति राष्ट्रपतिसहित सबै पक्षबीच जुटेको थियो। प्रधानमन्त्री कार्कीलाई ६ महिनाभित्र प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउने जिम्मेवारी तोकिएको छ।

उहाँले शुक्रबार नै पद तथा गोपनीयताको सपथ लिनुभएको छ। राष्ट्रपति पौडेलले तोकेअनुसार नयाँ जनादेशका लागि आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुनेछ।