काठमाडौं, भदौ २९ । सिन्धुपाल्चोकमा जेनजी आन्दोलनका नाममा जलाइएको आफ्नो घरको भग्नावशेषमा उभिएर नेपाली कांग्रेसका नेता मोहन बस्नेतले यो देशी मात्र नभई विदेशी हस्तक्षेपसमेत भएको बताउनुभएको छ ।
आइतबार सिन्धुपाल्चोकमा जलेको घरमा उभिएर उहाँले आफ्नो घर सुनियोजित रूपमा जलाइएको बताउनुभयो । ‘मेरो तीनकुनेको घर पनि जलाइदिए, यहाँको पनि जलाइदिए’, उहाँले भन्नुभयो ।
उहाँले आफू देश र जनताका लागि तथा प्रजातन्त्रका लागि लामो समयदेखि लडेको बताउँदै अब पनि चुप बस्न नमिल्ने बताउनुभयो । ‘नेपाल आमा रोइरहेको बेलामा कसले के भन्ला, प्रहरी र सेनाले के गर्ला भनेर चुप बस्न मिल्दैन’, उहाँले भन्नुभयो ।
उहाँले आफ्नो घरमा माओवादी समूह र त्यससँग सम्बन्धित तत्त्वले आक्रमण गरेका आरोप लगाउनुभयो । ‘माओवादीको सक्रियतामा यो सबै भएको छ तर, यहाँ स्वदेशी मात्र छैनन्, देशी पनि देखिएका छन्, यो गम्भीर परिस्थिति हो’, उहाँले भन्नुभयो ।
घटनापछि उहाँले आगामी राजनीतिक परिदृश्यप्रति पनि आपत्ति प्रकट गर्नुभयो । संविधान र चुनावप्रति चिन्ता देखाउँदै उहाँले संवैधानिक प्रक्रिया र निर्वाचन कमजोर पारियो भने कांग्रेस प्रत्यक्ष रूपमा भाग नलिने र अन्य कदम चाल्ने बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्