जनता टाइम्स

३० भाद्र २०८२, सोमबार ११:०१

प्रधानमन्त्रीलाई नारायणकाजीको सुझाव : राजनीतिक पार्टी भन्दा बाहिरका क्षमतावान् व्यक्तिलाई मन्त्री बनाऊँ


काठमाडौं, भदाै ३० ।  नेकपा माओवादी केन्द्रका नेता पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री सुशीला कार्कीलाई मन्त्रिमण्डल विस्तार गर्दा राजनीतिक दलभित्रकै सीमित परम्परागत नियुक्तिहरूमा मात्र केन्द्रित नभई स्वतन्त्र, निष्ठावान्, देशभक्त, स्वच्छ र क्षमतावान् व्यक्तिहरूलाई समेट्न सुझाव  दिनुभएको छ ।

‘तपाईँले छिटो राजनीतिक दलहरू भन्दा बाहिरका स्वतन्त्र ,निष्ठावान् ,देशभक्त , स्वच्छ एवं क्षमतावान् व्यक्तिहरू मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिनुहोस्’, उहाँको सुझाव छ ।

 कार्की प्रधानमन्त्री नियुक्ति भएपछि व्यक्तिगत रूपमा फोनमार्फत बधाई तथा केही सल्लाह दिन चाहेको भए पनि सो सम्भव नभएपछि सामाजिक सञ्जाल मार्फत यो सुझाव दिएको उहाँले बत्ताउनुभएको छ । उहाँले सरकारको प्रमुख प्राथमिकता शान्ति र सुव्यवस्था कायम गर्ने तथा सरकारले घोषणा गरेका मितिमा स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गराउने हुनुपर्ने कुरामा जोड दिनुभएको छ । ‘तपाईँले सम्पूर्ण ध्यान मुलुकमा शान्ति सुव्यवस्था स्थापना गर्न र मुख्यतः घोषित मितिमा स्वतन्त्र एवं निष्पक्ष निर्वाचन गर्नेमा केन्द्रित गर्नुहोस्’, उहाँको सुझाव छ ।

श्रेष्ठले भदाै २३ र भाद्र २४ मा भएका घटनाहरूको निष्पक्ष र संवेदनशील छानबिन गरी दोषीहरूमाथि कानुनअनुसार कारबाही गर्नु आवश्यक रहेको स्पष्ट गर्नुभएको छ । भौतिक रूपमा ध्वंस भएका संरचनाहरूको पुनः निर्माणका काम छिटोभन्दा छिटो अगाडि बढाउन उहाँले सरकारसँग माग गर्नु भएको छ ।

भ्रष्टाचारविरुद्ध सुरु भएका कार बाईँहरूलाई निरन्तरता दिई सुशासन पक्षलाई बलियो बनाउनु पर्नेमा उहाँको जोड छ । प्रतिनिधिसभा नभएको अवस्थामा संघीय संसद्को आवश्यक भूमिका राष्ट्रिय सभाले प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने भन्दै उहाँले त्यसतर्फ ध्यानाकर्षण गराउनुभएको छ।

उहाँले प्रधानमन्त्रीलाई लाेकरिझ्याईँमा होइन तोकिएका काममा लाग्न सुझाव दिनुभएको छ । ‘तपाईँ लाेकरिझ्याईँका अन्य छुटफुट काममा होइन ,उपरोक्त कार्यहरूमा ,त्यसमा पनि मुख्यतः घोषित मितिमै निर्वाचन सम्पन्न गर्न सम्पूर्ण ध्यान केन्द्रित गर्नुहोस्, तपाईँको सरकार असफल भयो र घोषित मितिमा निर्वाचन सम्पन्न हुन सकेन भने देश भयावह सङ्कटमा धकेलिनेछ, अरू सबैले पनि यस प्रति सचेत हुँदै घोषित मितिमा निर्वाचन सम्पन्न गर्न सरकारलाई सहयोग गरौँ’, उहाँकाे सुझाव छ ।