काठमाडौं, भदौ ३० । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा तीन मन्त्री नियुक्त भएका छन । मन्त्री नियुक्त भएसँगै नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
सोमबार अपरान्ह मन्त्रीहरूले शीतल निवासस्थित राष्ट्रपति भवनको परिसरमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयता शपथ ग्रहण गरेका हुन्। यसरी मन्त्रीको शपथ गर्नेमा पूर्वअर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, नेपाल बिद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ ऊर्जा, जलस्रोत तथा सिंचाइ,भौतिक पूर्वाधार तथा यातायात,सहरी विकास मन्त्री र अधिबक्ता ओमप्रकाश अर्यालले गृह, कानुन तथा संसदीय मामिला मन्त्री पदको शपथ लिनुभएको छ ।
शपथ समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह रावत,राष्ट्रियसभा अध्यक्ष नारायण दाहाललगायत सहभागी हुनुहुन्थ्यो । यसअघि प्रधानमन्त्री कार्कीको शपथ ग्रहण समारोहमा भने दाहाल उपस्थित हुनुभएको थिएन । समारोहमा डा. बाबुराम भट्टराईले पूर्वप्रधानमन्त्रीहरुको प्रतिनिधित्व गर्नुभएको छ ।

जेनजीको आन्दोलनका क्रममा आगलागीबाट ध्वस्त भएपछि शीतल निवासको परिसरमा टेन्ट राखेर मन्त्रीहरूको शपथ ग्रहणको व्यवस्था मिलाइएको छ। योसँगै मन्त्रिपरिषद चार सदस्यीय भएको छ। आइतबार अन्तरिम सरकारको प्रधानमन्त्री कार्कीले खनाल,अर्याल र घिसिङलाई मन्त्री नियुक्त गर्नुभएको हो । अर्थमन्त्री खनाल पूर्वअर्थसचिव र गृहमन्त्री अर्याल कानुनविद हुनुहुन्छ । अर्याल काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका कानुनी सल्लाहकार समेत हुनुहुन्छ।
यसैगरी ऊर्जा मन्त्री घिसिङ नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हुन्। केपी शर्मा ओली नेतृत्वको सरकारले घिसिङलाई बर्खास्त गरेको थियो। पछि उनको स्थानमा हितेन्द्रदेव शाक्यलाई ल्याइएको थियो।













प्रतिक्रिया दिनुहोस्