जनता टाइम्स

३१ भाद्र २०८२, मंगलवार २१:४०

गणतन्त्रका पक्षधर शक्तिलाई छानिछानि आक्रमण भयो : प्रदीप ज्ञवाली 


काठमाडौं, भदौ ३१ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले असंगठित भिडसँग लड्ने कुरा निक्कै गाह्रो हुने बताउनुभएको छ ।

जेनजी आन्दोलनको नाममा नेपाली कांग्रेस पार्टी कार्यालयमा भएको क्षतिको अवस्था बुझ्न मंगलबार कांग्रेसको केन्द्रीय कार्यालय सानेपा पुग्नु भएका ज्ञवालीले संगठित शक्तिसँग लड्न सजिलो हुने बताउनुभयो । उहाँले अहिले देश असाध्यै असामान्य अवस्थाबाट गुज्रिरहेको पनि स्पष्ट पार्नुभयो ।

नयाँ पुस्ताको सुशासन सम्बन्धी चाहनमा कसैको पनि असहमति नभएको बताउँदै उहाँले लोकतन्त्रले शान्तिपूर्ण प्रदर्शनको छुट दिएको बताउनुभयो । शान्तिपूर्ण भनिएको भदौ २३ को प्रदर्शन कसरी अशान्त बन्न पुग्यो र गोली लागेर युवाहरूको ज्यान जाने अवस्था कसरी आयो भन्ने विषयमा छानबिन हुनुपर्ने ज्ञवालीले बताउनुभयो ।

अझ भदौ २४ गते नक्सा नै बनाएर देशैभरि आगजनी र तोडफोडका घटना भएका ज्ञवालीले बताउनुभयो । ‘गणतन्त्रका पक्षधर शक्तिलाई छानिछानि आक्रमण भयो, यो असाध्यै गम्भीर छ, असाध्यै सामान्य खालका लाग्छन् घटनाहरू’, उहाँले भन्नुभयो ।

सर्वोच्च अदालतका अपराधका फाइलहरू पहिलो प्राथमिकतामा राखेर जलाइने, कार्यालयहरूका अभिलेख जलाउने जस्ता काम सामान्य नभएका ज्ञवालीले बताउनुभयो । यो समयमा नेकपा एमाले नेपाली कांग्रेसको साथमा भएको बताउँदै नेपाली कांग्रेस धेरै उतारचढाव पार गर्दै आएको पार्टी भएकोले यो असहज अवस्था पनि पार गर्ने ज्ञवालीले विश्वास व्यक्त गर्नुभयो ।