जनता टाइम्स

२ आश्विन २०८२, बिहीबार १२:३९

जनमत पार्टीका ६ जना शीर्ष नेताद्वारा पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै सामूहिक राजीनामा


काठमाडौं, असाेज २। जनमत पार्टीका ६ जना शीर्ष नेताहरूले पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै सामूहिक राजीनामा दिनुभएको छ ।

आजैको मितिदेखि साधारण सदस्यसमेत नरहने गरी उहाँहरूले पार्टीबाट राजीनामा दिनुभएकाे हाे । राजीनामा दिने नेताहरूमा जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता डा. शरत सिंह यादव, जनमत युवा सङ्घका केन्द्रीय संयोजक सञ्जय कुमार यादव, जनमत स्वास्थ्यकर्मी सङ्घका केन्द्रीय संयोजक सी.के. सिंह, सुदूरपश्चिम प्रदेशका वरिष्ठ प्रदेश इन्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद् सदस्यसहित केन्द्रीय सदस्य विक्रमबहादुर बम रहनु भएको छ ।

पार्टी अध्यक्षलाई सम्बोधन गरेर पठाइएको पत्रमा उहाँहरूले नेपालकाे विषम परिस्थिति र जनमानसको अपेक्षाअनुरूप पार्टी नेतृत्वले आत्मालोचना गर्न नसकेको उल्लेख गर्दै, नेतृत्व परिवर्तनको मागलाई अस्वीकार गर्ने क्रममा नेताहरूको अपमान गरिएको आरोप लगाउनुभएको छ । राजीनामा पत्रमा भनिएको छ, ‘नेपालको विषम परिस्थितिलाई मध्यनजर गरी जनभावना अनुरूप पार्टीको प्रमुख नेतृत्वलाई आत्मालोचना गरी नेतृत्व परिवर्तनको निम्ति अल्टिमेटमसहित माग गरिएको राजीनामा पत्रलाई अवहेलना गरी जेनजी पुस्ताले बगाएको रगतको अपमान गर्दै उल्टै नेता–कार्यकर्तालाई अंहकारपूर्ण भाषामा आधिकारिक फेसबुकमार्फत धारणा सार्वजनिक भएपछि हाम्रो ध्यानाकर्षण भएको छ ।’

स्वार्थका लागि कुनै पदमोहमा नफस्ने स्पष्ट गर्दै उहाँहरूले जनभावना तथा नयाँ पुस्ताको चाहनाअनुरूप जेनजी पुस्ताकै नेतृत्वमा सामेल भई सहयोग र सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।

यसअघि, उहाँहरूले पार्टी अध्यक्ष डा. सिके राउतलाई २४ घण्टाभित्र राजीनामा दिन अल्टिमेटम दिनुभएको थियो । तर अध्यक्ष राउतले उल्टै उहाँहरूलाई नै राजीनामा दिन चेतावनी दिनुभएको थियो ।