काठमाडौं, असोज ५। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको मौजुदा केन्द्रीय समिति भङ्ग गरेर विशेष महाधिवेशनमा जाने प्रस्ताव राख्नुभएको छ ।
पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा आइतबार बसेको पदाधिकारी बैठकमा उहाँले मंसिरमा विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व निर्माण गर्ने प्रस्ताव प्रस्तुत गर्नुभएको हो ।अध्यक्ष दाहालले तत्कालै केन्द्रीय समिति बैठक बोलाएर त्यसबाट महाधिवेशन आयोजक समिति गठन गर्ने प्रस्ताव राख्नु भएको छ ।
उहाँको यो प्रस्ताव उपमहासचिव जनार्दन शर्माले हालसालै पार्टीमा पुनर्गठन र नेतृत्व हस्तान्तरणको माग सार्वजनिक गरेकै सन्दर्भमा आएको हो । शर्माले ‘पार्टीमा पुस्तान्तरण र नयाँ नेतृत्व आवश्यक’ भन्दै निरन्तरतामा क्रमभङ्ग गर्ने कुरा उठाइरहेका बेला अध्यक्ष दाहालले केन्द्रीय समिति नै भङ्ग गरेर महाधिवेशनमा जाने प्रस्ताव ल्याउनु भएकाे छ ।
बैठकमा प्रचण्डको प्रस्तावबारे थप छलफल जारी रहेको र अन्य पदाधिकारीहरूको धारणा सुन्न बाँकी रहेको बताइएको छ ।













प्रतिक्रिया दिनुहोस्