काठमाडौं, असोज ६ । स्वास्थ्य तथा जनसंख्यामन्त्री सिफारिस हुनभएकी डा. संगीता कौशल मिश्राको नाम काटिउको छ । प्रधानमन्त्री सुशीला कार्कीले मिश्राको नाममा बिवाद आएको र भ्रष्टाचार मुद्दामा मुछिएको भन्दै काटनुभएको हो ।
आइतबार साँझ डा. मिश्रालाई स्वास्थ्यमन्त्रीमा सिफारिस गर्नुभएकी प्रधानमन्त्री कार्कीले मिश्राको विवादास्पद विगत सार्वजनिक भएसँगै राष्ट्रपति कार्यालय शीतल निवासमा पठाएको मन्त्री नियुक्ति सिफारिसको फाइल फिर्ता मगाउनु भएको थियो । मिश्राको नाममा राष्ट्रपति रामचन्द्र पौडेलले पनि असहमति जनाएर ‘होल्ड’ गर्न सुझाउनु भएको थियो ।
राष्ट्रपति पौडेलको असहमतिकै कारण सोमबार बिहान ७ बजे राष्ट्रपति कार्यालयबाट मन्त्री नियुक्तिका लागि सिफारिस गरिएको फाइल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फिर्ता पुगेको थियो । त्यसपछि त्यो फाइल सोमबार बिहान ९ बजे राष्ट्रपति कार्यालयमा फिर्ता पठाउँदा डा. मिश्राको नाम काटेर पठाइएको हो ।
‘हिजो राति प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट आएको फाइलमा डा. संगीता कौशल मिश्राको नाम स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा सिफारिस भएर आएको थियो । त्यो फाइल कार्यालयले आज बिहान ७ बजे फिर्ता माग्यो । फाइल सच्चिएर बिहान ९ बजे कार्यालयमा फिर्ता आउँदा उहाँको नाम छैन,’ राष्ट्रपति पौडेलका सचिवालयमा कार्यरत एक अधिकारीले भने ।
मिश्राको नाम काटिएसँगै आज तीन बजे राष्ट्रपति पौडेलले सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हालाई कानुन न्याय तथा संसदीय मामिला, उद्योग वाणिज्य तथा आपूर्ति र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री, मदन परियारलाई कृषि तथा पशुपक्षी विकास, जगदिश खरेललाई सञ्चार तथा सूचना प्रविधि तथा महाबिर पुनलाई शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीको शपथ गराउने तयारी भएको छ ।
आइतबार कार्कीले डा. मिश्रासहित पाँच मन्त्रीको नाम सिफारिस गरेकोमा उहाँको नाम काटिएपछि चार मन्त्रीको शपथ हुन लागेको हो । जेनजी आन्दोलनको बलमा गत भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त हुनभएकी कार्कीले २९ गते कुलमान घिसिङ, रामेश्वर खनाल र ओमप्रकाश अर्याललाई मन्त्री नियुक्त गर्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्