रामेछाप असाेज ८ । नेपालीहरूको महान् चाड दशैँ नजिकिँदै जाँदा रामेछापको मन्थली बजारमा किनमेल गर्नेको भीड दिनप्रतिदिन बढिरहेको छ ।
बिहानैदेखि साँझ अबेरसम्म बजारको मुख्य सडकमा मानिसहरूको चहलपहल देखिन्छ । दशैँलाई परिवार, नातेदारसँग भेटघाट गर्ने, नयाँ कपडा किन्ने, स्वादिष्ट परिकार खाने र रमाइलो गर्ने पर्वका रूपमा मनाइन्छ । यही कारणले दशैँ सुरु हुनासाथ बजारहरूमा उपभोक्ताको भीड बढ्ने गर्छ । यस वर्ष मन्थली बजारमा अघिल्लाे वर्ष भन्दा उपभाेक्ताकाे भिड देखिएकाे छ ।
कपडा, जुत्ता–चप्पल, सौन्दर्यका सामान, इलेक्ट्रोनिक्स, खाद्यान्नदेखि गहना समेत बिक्री हुने मन्थली बजार अहिले उत्सवमय बनेको छ । सहर–बजारमा काम गर्दै आएका मानिसहरू गाउँ फर्कन थालेपछि बजारमा भिड थपिएको छ । यात्रु बस, साना गाडी र मोटरसाइकलकाे भिड पनि बजारमा निक्कै बढेकाे छ । उपभोक्ताहरू चाडपर्व मनाउनका लागि नयाँ सामान किन्न व्यस्त देखिन्छन् भने व्यापारीहरूलाई सामान बेच्न भ्याई नभ्याई छ ।

मन्थली बजारका व्यवसायीहरू यो वर्षको दशैँ व्यापार गत वर्षको तुलनामा निकै उत्साहजनक रहेको बताउँछन् । शुभमंगल वस्त्रालयका सञ्चालक हरेराम गुप्ताका अनुसार अघिल्लो वर्ष बाढी–पहिरोका कारण सडक अवरुद्ध भएपछि ब्यापार निक्कै कम भएकाे थियाे । यस वर्षा व्यापार बढेकाे छ । ‘गत वर्षको दशैँताका व्यापार ठप्प जस्तै थियो, तर यसपालि भने उपभोक्ताले मनग्गे किनमेल गरेका छन्, बजारमा दैनिक कारोबार निकै बढेको छ’, उहाँले भन्नुभयाे ।
मन्थली बजारमा रामेछाप जिल्लाकाे रामेछाप नगरपालिका तथा खाँडादेवी, लिखु तामाकाेशी, दाेरम्बा शैलुङ, गोकुलगंगा लगायतका विभिन्न गाउँपालिकाका मात्र होइन, छिमेकी जिल्ला दोलखा, ओखलढुंगा र सिन्धुलीसम्मका मानिसहरू आउने गर्दछन्। यातायात सुविधाकाे सहजता र बजारमा वस्तुहरूको विविधताकाे कारण मानिसहरू आकर्षित हुने गरेका छन् ।
सामान्यतया दशैँमा नयाँ कपडा र जुत्ता–चप्पल अनिवार्य जस्तै छ । साथै चामल, दाल, तेल, नुन, मासु, माछा, फलफूलजस्ता खाद्य सामग्रीको माग अत्यधिक हुने गर्दछ । अघिल्लो वर्ष बाढी–पहिरोको त्रासका कारण जनजीवन प्रभावित हुँदा बजार सुस्ताएको स्मरण गर्दै धेरैले यस वर्षलाई सहज र व्यापारमैत्री वर्षका रूपमा लिएका छन् ।













प्रतिक्रिया दिनुहोस्