काठमाडौं, असाेज ८। उर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङले दशैंमा घर फर्किने वा यात्रा गर्ने क्रममा चालक तथा यात्रु दुवैलाई सचेत रहन आग्रह गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश जारी गर्दै ‘सडक सुरक्षा नै जीवन सुरक्षा हो’ भन्ने सन्देश सार्वजनिक गर्नुभएको हो ।
मन्त्री घिसिङले नेपालीहरूको महान् चाड दशैंमा रमाइलो त गर्नुपर्ने तर हतार नगरी, सजग भई, नियम पालना गरेर यात्रा गर्नुपर्नेमा जोड दिनुभएको छ । ‘तपाईंको जीवन र तपाईंको परिवार राष्ट्रको अमूल्य सम्पत्ति हो,’ उहाँले लेख्नुभएको छ, ‘त्यसैले रमाइलो त पक्का गर्नुहोस्, तर हतार नगरी सुरक्षित र सजग भएर यात्रा गर्नुहोस् ।’
उहाँले विशेषगरी चालकहरूलाई गति नियन्त्रणमा राख्न, मदिरा सेवनपछि सवारी नचलाउन, लामो यात्रामा निस्कँदा आवश्यक विश्राम लिन, यात्रुलाई परिवारझैँ सम्झेर सुरक्षित गन्तव्यसम्म पुर्याउन आग्रह गर्नुभएको छ ।
त्यस्तै यात्रुहरूलाई समेत सचेत गराउँदै उहाँले क्षमताभन्दा बढी सवारीमा चढेर जीवनलाई जोखिममा नपार्न, चालकलाई दबाब नदिई शान्त र सुरक्षित यात्रा गर्न प्रोत्साहित गर्न र यात्राको क्रममा आवश्यक सावधानी अपनाउन अनुरोध गर्नुभएको छ ।
‘यस दशैंमा हाम्रो उद्देश्य केवल गन्तव्यमा पुग्नु मात्र होइन, सुरक्षित र खुसीसाथ पुग्नु पनि हो,’ मन्त्री घिसिङको भनाइ छ । उहाँले सबैलाई सुरक्षित यात्रा र सुखद चाडको शुभकामना दिँदै परिवारको खुशी नै राष्ट्रको शक्ति भएकाले सडक सुरक्षामा सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्