काठमाडौं, असाेज २०। नेकपा एमालेका नेता सूर्य थापाले पछिल्लो राजनीतिक परिस्थिति र सरकारी व्यवहारप्रति तीखो टिप्पणी गर्नु भएकाे छ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत ‘हाइज्याकर राज– हुल अफ ल!’ शीर्षकमा लेख्दै उहाँले वर्तमान सत्ता सञ्चालन शैलीलाई ‘विदेशी एजेन्टहरूको खेल’ र ‘जोकरतन्त्र’ का रूपमा चित्रण गर्नु भएकाे छ । थापाले आफ्नो स्ट्याटसमा लेख्नु भएकाे छ, ‘संविधान, कानुन र राजकीय जिम्मेवारीले नचिन्ने संदीग्ध विदेशीका एजेन्टहरू कहिले पानी बोक्दै घुसपैठ गरेर रक्तपात र आगजनी गराउँछन्, कहिले राष्ट्रपतिलाई धम्काउन पुग्छन्, फढ्नु न लेख्नु, जान्नु न बुझ्नु मन्त्रालयमै पुगेर मन्त्रीको उपस्थितिमा उच्च तहका सरकारी कर्मचारीहरूको हुर्मत लिन्छन्।’
विपद् व्यवस्थापन तथा आन्तरिक सुरक्षाका विषयकाे बैठकमा जेनजीका लिडर सुदन गुरुङकाे सहभागताका विषयमा उहाँले साे धारणा राख्नु भएकाे हाे । ‘अर्थमन्त्री जो स्वयं व्युरोक्रेसीबाट आएका हुन्, उनी हजुर सुदन सर भन्दै जीहजुरीका साथ लाचारी प्रदर्शन गर्छन्, गृह मन्त्री यसै भरौटेलाई विपद्को एक्सपर्ट भन्न शरम मान्दैनन्’, उहाँले लेख्नु भएकाे छ ।
थापाले सत्तामा बसेकाहरूमाथि दलालतन्त्र चलाएको आरोप पनि लगाउनु भएकाे छ। उनहाँका शब्दमा, ‘विदेशीको खेलौना दलालतन्त्रमा यस्तै हुन्छ, मानौँ यो लठैत सुशीला कार्कीको नियुक्तिको तथाकथित सिफारिशकर्ता मिस्टर लुसिफर (डार्कम्यान) को खास नायबी चलाइरहेको छ।’
थापाले प्रधानमन्त्री तथा गृह मन्त्रीलाई समेत सिधा चुनौती दिँदै लेख्नु भएकाे छ, ‘यसलाई नियुक्ति दिनुछ भने देऊ भरौटे सरकार, तर अनाधिकृत र गैरजिम्मेवार हप्कीदप्की र जवाफदेहीबिहीन आदेशनिर्देश बन्द गर, यो जोकरतन्त्र होइन, लोकतन्त्र हो।’
थापाको यस अभिव्यक्तिलाई सरकारप्रति असन्तुष्ट एमाले पंक्तिभित्रको तीव्र असन्तोषको प्रतीकका रूपमा हेरिएको छ। सामाजिक सञ्जालमा उनका उक्त टिप्पणीहरू अहिले चर्चामा छन्, जसमा धेरैले समर्थन जनाएका छन् भने केहीले अत्यधिक कटाक्षपूर्ण भएको आलोचना पनि गरेका छन्।














प्रतिक्रिया दिनुहोस्