जनता टाइम्स

२१ आश्विन २०८२, मंगलवार १६:४३

बालेन र सुधन गुरुङविरुद्ध किटानी जाहेरी लिएर प्रहरी परिसरमा विद्यार्थी नेता


काठमाडौं, असोज २१ । जेनजी आन्दोलनको नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध किटानी जाहेरी दिने अभियान चलाइएपछि सो पार्टीको भ्रातृ संगठन अनेरास्ववियुले काउन्टर दिने तयारी गरेको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र हामी नेपालका संस्थापक सुधन गुरुङविरुद्ध काउन्टर जाहेरी दिन अखिलका नेताहरू काठमाडौं प्रहरी परिसर जान लागेका छन् । अखिलका नेताहरूको बैठकले जाहेरी दिन जाने निर्णय गरेको हो ।

सिंहदरबार लगायत सरकारी संरचनामा आगजनी गरिएको, निजी सम्पत्ति ध्वंस गरिएको र प्रहरीहरुको हत्या गरिएकोमा बालेन र सुधनलाई आरोपित गर्दै जाहेरी दिने तयारी गरिएको हो ।अनेरास्ववियुका महासचिव दीपक धामीले आजै किटानी जाहेरी दर्ता गराउने बताउनु भयो ।

जेनजी आन्दोलन हडपेर आतंक मच्चाएको सुधन गुरुङको समूहले ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी दिने प्रयास गरेको थियो । तर, प्रहरीले जाहेरी दिन मानेन । यस विषयमा प्रधानमन्त्री सुशीला कार्कीले गृहमन्त्री ओमप्रकाश अर्यालसहित सुरक्षा निकायका प्रमुखलाई बोलाएर छलफल गरी जाहेरी लिन भनेपछि प्रहरीले लिखित आदेश मागेको थियो ।