जनकपुर, असोज २२ । मधेस प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन गर्ने दाबी पेस गरिएको छ।
बुधबार नेपाली कांग्रेस, नेकपा (एमाले) र जनमत पार्टीले संयुक्त रूपमा प्रदेश प्रमुखको कार्यालय जनकपुरधाममा नयाँ सरकार गठनको दाबी पेस गरेका हुन्।
नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवको नेतृत्वमा नयाँ सरकार बन्ने प्रस्ताव गरिएको छ। दाबीपत्रमा कांग्रेस, एमाले र जनमत पार्टीका प्रदेश सांसदहरूले हस्ताक्षर गरेर प्रस्तुत गरेका छन्। उनीहरूले हालको जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको सरकार अल्पमतमा पुगेको भन्दै संविधानको धारा १६८(२) बमोजिम नयाँ सरकार गठन गर्न माग गरेका छन्।
यसअघि जसपा अध्यक्ष उपेन्द्र यादव निकट प्रदेश सरकार सरोजकुमार यादवको नेतृत्वमा सञ्चालन हुँदै आएको थियो। तर एमालेका मन्त्रीहरूले पदबाट राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सत्ता समीकरण भत्किएको हो। त्यसपछि कांग्रेस, एमाले र जनमतबीच नयाँ सहमति बनेको हो।
मधेश प्रदेश सभामा कुल १०७ सदस्य छन्। तीमध्ये कांग्रेसका २२, एमालेका २५ र जनमतका १३ जना सांसद छन्। यी तीन दलको समर्थनले ६० मत जुट्ने भएकाले बहुमतको आधारमा कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन सम्भावना बलियो बनेको छ।
साझा दाबी बुझाउने क्रममा कांग्रेस, एमाले र जनमतका सांसदहरू प्रदेश प्रमुख हरिशंकर मिश्रालाई भेट्न प्रदेश प्रमुखको कार्यालय पुगेका थिए। उनीहरूले संयुक्त रूपमा सरकार गठनको दाबी बुझाउँदै प्रदेशमा स्थायित्व, सुशासन र विकासमुखी नीति अघि बढाउने प्रतिबद्धता जनाएका छन्।













प्रतिक्रिया दिनुहोस्