जनता टाइम्स

२४ आश्विन २०८२, शुक्रबार १२:२१

भक्तपुरमा एमाले सचिवालय बैठक सुरु, आगामी रणनीति र केन्द्रीय समिति बैठकका एजेण्डामा छलफल


काठमाडौं, असोज २४। नेकपा (एमाले) को सचिवालय बैठक भक्तपुरमा सुरु भएको छ । बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको हो ।

आगामी राजनीतिक रणनीति तथा नयाँ कार्यदिशा तय गर्ने उद्देश्यले सचिवालय बैठक सुरु भएको हाे । बैठकमा असोज २७ देखि २९ गतेसम्म बस्ने केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्ने तयारीसमेत भइरहेको छ । पार्टी संगठन, नीति, र जेनजी आन्दोलन पछि भएका गतिविधिको समीक्षा गरी बैठकमा आगामी कार्यक्रमहरूबारे निर्णय हुने अपेक्षा गरिएको छ ।

यसअघि आइतबारका लागि तय गरिएको सचिवालय बैठक अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानका कारण स्थगित गरिएको थियो । असोज १२ गते बसेको सचिवालय बैठकपछि एमाले केन्द्रीय तहमा यो दोस्रो बैठक हो ।

बैठकमा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू, महासचिव शंकर पोखरेल, उपमहासचिवहरू तथा सचिवहरुको सहभागिता रहेको छ ।