काठमाडौं, असोज २४ । सरकाले नेकपा एमालेको जनसंगठन राष्ट्रिय युवा संघ नेपालले भोलि काठमाडौंमा गर्ने भनेको मोटरसाइकल प्रदर्शन गर्न नदिने भएको छ ।
राष्ट्रियता माथिको प्रहार, लोकतन्त्रमाथिको चुनौती र संविधान माथिको षड्यन्त्रका विरुद्ध राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षाको लागि भन्दै संगठनले भोलि दिउँसो काठमाडौंमा मोटरसाइकल र्याली आयोजना गर्न लागेको थियो । र्याली दिउँसो १ बजे तीनकुनेबाट गर्ने योजना संगठनको छ ।
युवा संगठनले मोटरसाइकल र्यालीको कार्यक्रम सार्वजनिक गरे लगत्तै जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंमा कुनै पनि प्रकारका प्रदर्शन गर्न अनुमति नदिने सूचना जारी गरेको छ । कार्यालयले अनुमतिबिना त्यस्ता कार्यक्रम नगर्न आग्रह गरेको छ । कार्यालयले आज सूचना जारी गरी यस्तो प्रतिबन्ध लगाएको हो ।
शनिबार फरक फरक समूहहरूले काठमाडौं जिल्लाका विभिन्न स्थानहरूमा मोटरसाइकल र्याली तथा सभा गर्ने भनी सूचना प्राप्त हुन आएको बताउँदै कार्यालयले गत भदौ २३ गतेको जेनजी आन्दोलन पछिका दिनमा भएको तोडफोड, आगजनी तथा सार्वजनिक र निजी सम्पत्तिहरूमा भएको क्षति समेतका घटनाहरू हुन पुगेको सन्दर्भमा शान्ति सुरक्षाको स्थिति बनाइराख्न, सार्वजनिक सम्पत्तिको संरक्षण गर्दै सेवा प्रवाह सुचारु गर्ने कार्यहरू सुरु भएको जनाएको छ । ‘यसै सिलसिलामा विभिन्न समूहहरूबाट हुने भनिएका र्याली, जुलुस, धर्ना, सभा र प्रदर्शन जस्ता गतिविधिहरूले सुरक्षा चुनौती बढाउन सक्ने र आम नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने कार्यमा थप जटिलताको अवस्था हुन जाने भएको हुँदा यस कार्यालयबाट त्यस प्रकारका कुनै पनि र्याली, प्रदर्शन जस्ता कार्यक्रम गर्न कोही कसैलाई पनि स्वीकृति प्रदान नगर्ने भनी निर्णय भएको छ, अतः पूर्व स्वीकृति विना कुनै पनि प्रकारका कार्यक्रमहरू नगर्न नगराउनु हुन स्थानीय प्रशासन ऐन २२०८ को दफा ६ को उपदफा ३ को देहाय खण्ड (क) र प्रहरी ऐन २०१२ को दफा १९ को, व्यवस्था बमोजिम यो सूचना सम्बद्ध सबैलाई जानकारीका लागि प्रेषित गरिएको छ ।’, स्थानीय प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।














प्रतिक्रिया दिनुहोस्