जनता टाइम्स

२४ आश्विन २०८२, शुक्रबार १७:०९

राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठक सुरु, कुन दलबाट को–को छन सहभागी ?


काठमाडौं, असोज २४ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री शुशिला कार्की र विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूसँग निर्वाचनबारे छलफल गर्न बोलाउनु भएको सर्वदलीय बैठक शुरु भएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा भइरहेको बैठकमा अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीसहित सबै मन्त्री सहभागी रहेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । त्यसैगरी नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र सचिव वर्षमान पुन सहभागी हुनुभएको छ ।

एमालेको सचिवालय बैठक चलिरहेको बेला एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर र महासचिव पोखरेल बैठकमा सहभागी हुन जानुभएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यवाहक सभापति डीपी अर्याल र सहमहामन्त्री विपिनकुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवक्ता ज्ञानेन्द्र शाही र नेतृ मिना लामा, नेकपा एकीकृत समाजवादीबाट बरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव धनश्याम भुसाल सहभागी हुनुहुन्छ ।

यस्तै जनता समाजवादी पार्टीबाट रेणु यादव, जनमत पार्टीबाट डा. सिके राउत र डा.जयकुमार राउत, लोकतान्त्रिक समाजवादी पार्टीबाट ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ला, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी र नेपाल मजदुर किसान पार्टीबाट सुनिल प्रजापति सहभागी हुनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले आगामी फागुन २१ गते तोकिएको मध्यावधी निर्वाचनको बिषयमा छलफल गर्न बैठक बोलाउनु भएको हो । सरकार र दलहरुबीच संवाद नै बन्द रहेको बेला राष्ट्रपतिले निर्वाचनको बिषयमा छलफल गरी वातावरण बनाउन पहलकदमीसहित सरकार र दलहरुबीच संवादको सुरुवात गर्नुभएको हो ।