काठमाडौं, असोज २४ । नेपालले जापानलाई पाँच विकेटले पराजित गर्दै आइसिसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको समूह ‘बी’ को विजेता बनेको छ ।
शुक्रबार ओमानमा भएको खेलमा जापानले दिएको १ सय ३२ रनको लक्ष्य नेपालले १८ ओभरमै पाँच विकेट गुमाएर पूरा गर्दै समूह विजेताका रूपमा सुपर–६ चरणमा प्रवेश गरेको हो ।
नेपालका लागि ओपनर आसिफ शेखले उत्कृष्ट ३८ रन बनाए भने उनका जोडीदार कुशल भुर्तेलले २१ रनको योगदान गरे । कप्तान रोहित पौडेलले १८ रन, सन्दीप जोराले ५ रन र कुशल मल्लले ४ रन जोडे । अन्त्यतिर दीपेन्द्रसिंह ऐरी १४ र गुल्सन झा २८ रनमा अविजित रहँदा नेपालले सहज जित हासिल गर्यो ।
बलिङतर्फ जापानका शोमा स्लेटरले दुई विकेट लिए भने अन्य बलरहरूले एक–एक विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जापानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३१ रनको योगफल बनाएको थियो । जापानका लागि कप्तान केन्डेल काडोवाकी–फ्लेमिङले ४६ बलमा सर्वाधिक ६० रन बनाए । उनले दोस्रो विकेटका लागि इसम रहमानसँग ८६ रनको साझेदारी गरे । रहमानले २५ बलमा ३१ रनको योगदान दिए ।
नेपालका बलरहरूले सन्तुलित प्रदर्शन गरे । गुल्सन झाले दुई विकेट लिए भने सन्दीप लामिछानेले पनि दुई विकेट हात पारे । सोमपाल कामीले एक विकेट लिए ।
जापानमाथिको जितसँगै नेपालले समूह ‘बी’ मा शीर्ष स्थान सुरक्षित गर्दै दुई अंक जोडेको छ । यससँगै नेपाल सुपर–६ चरणमा प्रवेश गरेको छ, जहाँ उसले समूह ‘ए’ र ‘सी’ बाट चयन भएका दुई–दुई टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपालले सुपर–६ मा अब विश्वकपको मुख्य चरण प्रवेश गर्ने लक्ष्यसहित खेल्ने तयारी गरेको छ ।













प्रतिक्रिया दिनुहोस्