जनता टाइम्स

२५ आश्विन २०८२, शनिबार ०८:२३

देशभरबाट बाहिरियो मनसुन, अव पानी नपर्ने


काठमाडौं, असोज २५ । शनिवारदेखि नेपालको सम्पूर्ण भूभागबाट यस वर्षको मनसुन बाहिरिएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार यही असोज २० गतेदेखि बाहिरिन सुरु भएको मनसुन निर्धारित समयभन्दा आठ दिन ढिला गरी शनिवारबाट देशभरबाट बाहिरिएको हो । विभागले हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।

असोज २० गते नेपालको सुदूरपश्चिम, कर्णालीलगायत लुम्बिनी प्रदेशका पश्चिमी भूभागका अधिकांश स्थान र गण्डकी प्रदेशका पश्चिमी भूभागका केही स्थानबाट मनसुन बाहिरिन सुरु भएको थियो । मनसुनको उत्तराद्र्धमा यसबर्ष देशका ५० भन्दा बढी जिल्लामा भारी वर्षाका कारण जनजीवन प्रभावित भएको थियो भने असोज १७ गते परेको भारी बर्षासहित मनसुनी विपद्मा परी ५३ जनाको मृत्यु र पाँच जना बेपत्ता भएका छन ।